
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्ने दौडबाट गायीका आनी छोइङ डोल्मा रिङ आउट हुने भएकी छन् । नक्कली बाबु खडा गरेर नेपाली नागरिकता लिएकी आनी कालोधन र दलाई लामासँगको सम्बन्धका कारण विवादित पात्र हुन् । आनीले कोषको नेतृत्वमा जाने दौडधुप सुरु गरेपछि फेरि विवादिमा आएकी थिइन् ।
कोषका उपाध्यक्ष अवधेश त्रिपाठीको कार्यकाल यही साउन १० गतेबाट सकिएपछि नयाँ नेतृत्वबारे छलफल सुरु हुँदा आनीले पनि जबरजस्त आएकी थिइन् । किर्ते कागज जुटाएर नेपाली नागरिकता लिएको र विदेशीबाट कालो धन भित्र्याएको पुष्टि भएपछि केही समय गुमनाम बनेकी आनी कोष नेतृत्वविहीन बनेको बेला भेटघाटलाई तीब्र पारेकी थिइन् । आनी नेता, सांसद र शक्तिकेन्द्रको दैलोसम्म समेत पुगेको आरोप लागेको छ ।
निकट स्रोतका अनुसार कोषको उपाध्यक्ष बन्नलाई आवश्यक शैक्षिक प्रमाणपत्र जुटाउन नसक्दा आनी रिङ आउट भएकी हुन् । यसअघि कोषको सदस्य भइसकेकी आनी उपाध्यक्ष बन्ने दाउमा थिइन् । अहिले आनी आफू निकट भिक्षुसँग छलफलमा जुटेकी छन् ।
आफू तिब्बती शरणार्थीको छोरी भएको आत्मकथामा लेखेकी आनीले वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएको यसअघि पुष्टि भइसकेको थियो । आनीले २०४६ जेठ १९ गते काठमाडौंको तत्कालिन चपली भद्रकाली गाउँपञ्चायत, वडा नम्वर ६ का कान्छाबहादुर लामालाई नक्कली बाबु बनाएर नागरिकता लिएकी हुन् । सोही नक्कली नागरिकताका आधारमा नेपाली राहदानी बनाएकी छन् ।
आफ्नो बुबाको नामबाट नागरिकता लिएको थाहा पाएपछि कान्छाबहादुरका छोरा प्रमान सिंहले २०७६ पुस ८ गते काठमाडौंले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । कान्छाबहादुरलाई बुबा बनाएर आनीले लिएको नागरिकताको नं. ३१४ रहेको छ । आनीले पहिलो पटक २०४६/०२/१९ मा छोइङ डोल्मा मोक्तान लामा नामको नागरिकता लिएकी छन् भने मिति २०६६/०७/२४ मा प्रतिलिपी लिएकी छन् । प्रतिलिपी नागरिकता प्रमाणपत्र नम्वर २३६१ रहेको छ ।
‘ढाटेको कुरा काटे मिल्दैन’ भनेझैं आनीले आत्मकथामा आफ्ना बुबाको निधन २०६१ सालमा भएको बताएकी छन् । तर, बुबा बनाएका कान्छाबहादुरको २०३९ सालमै निधन भइसकेको थियो । छोरा प्रमानले आफ्ना दिवंगत बुबाको नामबाट नागरिकता लिएको भन्दै कारवाहीको माग समेत गरेका थिए ।
चपलीका स्थानीयले आनी कान्छाबहादुरका छोरी नभएको र किर्ते कागजात जुटाएर नागरिकता लिएको बताउँछन् । कान्छाबहादुरका प्रमान सिंह लामा एकमात्र सन्तान हुन् । प्रमानसिंहले आनी आफ्नो परिवारको सदस्य नरहेको किटानी दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत दिएका थिए । उनले आनीले आफ्नो परिवारको प्रतिस्ठा र इज्जतलाई बदनाम गरेको भन्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा कारवाहीको निवेदन समेत दिएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ०७६ पुस ८ गते नै आनीको नागरिकताबारे अनुसन्धान गर्नुपर्ने भन्दै दुबै नागरिकतासहित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको थियो । जिल्ला प्रशासन कार्यालयले २०७६ पुस १३ गते २०६६/०७/२४ मा जारी भएको प्रतिलिपी नरहेको भन्दै त्यो प्रतिलिपी जारी गर्ने बेला रष्जिट्ररमा खडा भएको ४ दुई पानाको प्रतिलिपी पठाएको थियो ।
आनीको कालोधन र दलाई लामासँग सम्बन्ध
किर्ते कागजका आधारमा लिएको नागरिकताबाट आनीले नेपालमा विभिन्न संस्था खोलेर समाजसेवा गरेको देखाउँदै अवैध रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउने र शक्तिकेन्द्रलाई रिजाएर वैध बनाउँदै आएकी छन् । आनीले किड्नी फाउण्डेशन, ट्राभल्स, कन्सलटेन्सी, आर्य तारा स्कुललगायतका सामाजिक संघसंस्थाकी संचालन गर्दै आएकी छन् ।
यसअघि आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर नेपाल भित्र्याएकी थिइन् । ०७५ वैशाख २६ गते
आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८) र २७ गते ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर (५ करोड ९९ लाख ३७ हजार ७ सय ८) रुपैयाँ, र २८ गते ५ लाख २९ हजार ९ सय ८० (५ करोड ८८ लाख २७ हजार ७ सय ८० रुपैयाँ) जम्मा भएको थियो ।
आनीका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइको अनुशन्धानमा पनि उजुरी परेको थियो । विभिन्न समयमा २० करोड रुपैयाँ नेपाल ल्याइसकेकी आनीले फेरि १८ करोड ल्याउने बेला भने राष्ट्र बैंकले रोकेको थियो ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलगायत शिर्ष नेताहरुसँग निकट सम्बन्ध बनाएकी आनीले पहुँचकै भरमा आनी अपराधबाट बच्दै आएकी छन् ।
त्यसैगरी आनीको भारतमा निर्वासनमा बसेका तिब्बतका धार्मीक नेता दलाई लामासँग पनि आनीको निकट सम्बन्ध रहेको बताइन्छ । आनी दलाई लामाकै योजनामा नेपालमा तिब्बत विरोधी कार्यमा समेत संलग्न रहेको स्रोतहरुको दाबी छ । त्यसो त आनीले दलाई लामासँगको भेट गरेको फोटो पनि सार्वजनिक हुँदै आएका छन् ।
आनी समाजसेवाको खोलमा तिब्बत विरोधी कार्यमा लाग्दै आएको आरोप पनि लाग्दै आएको छ ।