
काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थायित्व कायम लागि पर्ने निर्णय गरेको छ । सात दिनसम्म चलेको केन्द्रीय समिति बैठक १८ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।
काँग्रेसले वर्तमान गठबन्धनलाई विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यले बनेको भन्दै सत्ता गठबन्धनलाई बलियो र मजबुत बनाउने संकल्प समेत गरेको छ ।
काँग्रेसको निर्णयमा भनिएको छ, ‘विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यले बनेको यो सत्ता गठवन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्नु हामी सबैको दायित्व हो’, कांग्रेसले भनेको छ, ‘यसैको जगमा राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा, लोकतन्त्रको लागि लामो समय जेल जीवन बिताउनु भएका, संविधान निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचन हुनु भएको स्थिति छ ।’
साउन २ गतेबाट सुरु भएको काँग्रेसको बैठकमा सत्ता गठबन्धनमा पहिलो चरणको सरकार निर्माणमा केही कठिनाइ सृजना भएको निष्कर्ष निकालेको छ । अहिलेको गठबन्धन हुनु पूर्व काँग्रेसमा निरासा छाएको बताउँदै होसियारीका साथ राजनीतिक कौशलता प्रदर्शन गरेर काँग्रेस प्रदेश र संघीय सरकारमा सहभागी भएको बताइएको छ ।
‘प्रतिकूल राजनीतिक परिस्थितिमा समेत किञ्चित विचलित नभई होसियारी साथ हाम्रा अनुभवी नेताहरुले आफ्नो राजनैतिक कौशलता प्रदर्शन गर्नु भयो र नेपाली राजनीतिलाई लयमा फर्काउनु भयो । यस परिघटनाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको प्रतिष्ठा बढ्यो भने गठबन्धनमा आवद्ध दलहरूले थप भरोसा गरे । निराश भएका कांग्रेसजनमा पुनः उत्साह छायो’ काँग्रेसले भनेको छ ।
बैठकले पारित गरेको संकल्पमा भनिएको छ । ‘नेपाली कांग्रेसको तर्फवाट निर्वाचित स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधिहरुलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरि परिचालन गर्ने सङ्कल्प गर्दछ ।’