काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । एक दिने भ्रमणको क्रममा शुक्रबार नेपाल आएका लुले यसअघि नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।
भेटमा एमसीसी कार्यान्वयनबारे छलफल गरेको बताइएको छ । त्यस्तै, सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।
भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे ।
दुई देशबीचको लामो मित्रवत सम्बन्धको परिपेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो ।