
काठमाडौँ । समाजवादी मोर्चा, नेपालले मोर्चाको नीति, आचारसंहिता र कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ । कार्यदलले आन्तरिक छलफल थालेको नेताहरुले बताएका छन् । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
एक नेताका अनुसार शनिबारबाटै कार्यदलले आन्तरिक छलफल थालेको छ । कार्यलले माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाबाट खडगबहादुर विश्वकर्मा रहेका छन् ।
कार्यदलको प्रतिवेदन अर्को बैठकमा पेश हुनेछ । यही असार २७ गते बस्ने बैठकमा कार्यदलको प्रतिवेदन पेश गरिनेछ । मोर्चाले सातवटै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी मोर्चाले ६-६ महिना नेतृत्व आलोपालो गर्ने पनि बैठकले सहमति जुटाएको छ । असार २७ गते यसबारे ठोस निर्णय हुने एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए । असार २७ गतेसम्म मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्ने समेत बैठकमा सहमति भएको छ ।