
काठमाडौँ । प्रहरीले बहुचर्चित ललिता निवास जग्गाको फाइल खोलेपछि भूमाफिया र बिचौलियाको भागभाग भएको छ । कोही नेपालभित्रै लुकेर बसेका छन् भने कोही विदेश भागेका छन् । प्रहरीले मिनबहादुर गुरुङसहित आरोपीलाई पक्राउ गरेपछि उनीहरुको भागभाग भएको हो ।
ललिता निवासको जग्गा हत्याउने काण्डका योजनाकारमध्येका एक विवादित व्यापारी सुहृतराज घिमिरे र उनका विजनेश पार्टनर पुरुषोत्तम पौड्यालले नेपाल छोडेका छन् । आफूमाथि पनि प्रहरीले छानविन अगाडि बढाएको सुईको पाएपछि घिमिरे र पौड्याले कसैलाई जानकारी नै नदिएर विदेश हानिएका हुन् ।
निकट स्रोतका अनुसार केही मानिसहरुलाई मात्रै जानकारी दिएर घिमिरे मलेसिया हानिएका छन् भने पौड्याल अस्ट्रेलिया । उनीहरुले नेपालमा करछलि गरी कमाएको अकुत सम्पती विदेशमा कम्पनी खोलेर लगानी गरेका छन् । एउटै देश गएपछि शंका गर्ने हुने भएकोले उनीहरु सल्लाहमै फरकफरक देश पुगेको बताइएको छ । आफू मलेसिया लुकेपनि पार्टनर पौड्याललाई भने अस्ट्रेलिया पाठएका हुन् ।
“प्रहरीले छानविन गरेको कुरा आएपछि उहाँहरु विशेष काम भन्दै विदेश जानुभएको हो । विदेशी कम्पनी र आफैले कम्पनीले खोलेर विदेशमा पनि लगानी गर्नुभएको छ । दुबै जना केही दिनको लागि नेपाल बाहिरै रहनुहुन्छ” उनी निकट स्रोतले भन्यो ।
घिमिरे निकट स्रोतका अनुसार ललिता निवास प्रकरणमा आफूलाई प्रहरीले आफूलाई नमात्ने अवस्था नबनाएसम्म विदेशमै बस्ने तयारीमा छन् ।
विवादित छविका घिमिरेले सासुआमा इन्दु शर्माको नाममा २०६३ साल मंसिर १३ गते ललिता निवासको जग्गा कौडीको भाउमा खरिद गरेका थिए । कित्ता नम्बर ११ को १० आना २ दाम जग्गामध्ये ७ आना १ दाम र कित्ता नम्बर १३ को १० आना २ दाम जग्गामध्ये ७ आना २ पैसा गरी १४ आना २ पैसा १ दाम हुन्छ । १६ आनाको एक रोपनी हुने हिसाबले पुग नपुग झण्डै १ रोपनी जग्गा इन्दु शर्माले किनेकी देखिएको छ ।
शर्माको नाममा जग्गा किन्दा ७ लाख २८ हजार २ सय रुपैयाँ तिरेको देखिन्छ । १४ आना २ पैसा १ दाम जग्गाको मूल्य जम्मा ७ लाख २८ हजारको हिसाबले प्रतिआना जम्मा ५१ हजार मात्र तिरिएको देखिन्छ ।
त्यसैगरी घिमिरेले इन्दुकै नाममा २०६३ माघ २५ गते अर्को १३ आना ३ पैसा जग्गा खरिद गरेको प्रमाणले देखाएको छ । तत्कालीन समयको कित्ता नम्बर २, ३, १०१, ७३ र ७५ गरी ५ कित्ता जग्गाको कुल क्षेत्रफल १३ आना ३ पैसा जग्गा इन्दुको नाममा खरिद गरेका थिए ।
घिमिरेले २०६३ साल मंसिर १३ गते नै इन्दुको नाममा रहेको एक रोपनी ८ आना जग्गा आफ्ना व्यपारी साझेदार पुरुषोत्तम पौड्यालको नाममा गरेका थिए । तत्कालिन समयको कित्ता नम्बर ८ को २ रोपनी १४ आना २ पैसा ३ दाम जग्गामध्ये १ रोपनी ८ आना जग्गा गरेका हुन् । उक्त जग्गा प्रतिआना १ लाख २५ हजारका दरले ३० लाख रुपैयाँमा बिक्री गरेका थिए ।
इन्दुको नाममा ल्याउँदा प्रतिआना करिब ५१ हजार तिरिएको जग्गा पौड्यालले किन्दा प्रतिआना १ लाख २५ हजारमा बिक्री गरिएको छ ।
ललितानिवासको कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा इन्दुको नाममा रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरणमा आफ्नाविरुद्ध उजुरी परेपछि घिमिरेले आमा कमला र श्रीमति रेखा शर्माको नाममा जग्गाको कारोबार गर्दै आएका छन् ।
कन्टिनेन्टल ट्रेडिङका मालिक घिमिरेले किया मोटर र इसुजु मोटरको आधिकारिक विक्रेता हुन् । त्यस्तै, ओटिस कम्पनीको इलेभेटर र स्कालेटरलगात दर्जनौं कम्पनीमा घिमिरेको लगानी रहेको छ ।
नेपालमा करछलि गरी कमाएको रुपैयाँ सिंगापुरमा कन्टिनेन्टल ओभरसिज र हाल नाम परिवर्तन गरिएका फार इष्ट एसोसिएट्स कम्पनीमा घिमिरेले लगानी गरेका छन् । यही कम्पनीबाट कन्टिनेन्टल ट्रेडिङले कोमात्सु लगायत कम्पनीका कन्स्ट्रक्सन कम्पनीका लागि चाहिने डोजर, लोडर लगायतका सामग्री आयत गर्दै आएका छन् ।
घिमिरले कम्पनी आफ्नी भाञ्जी दिप्ती दाहालको नाममा रहेपनि प्रशासनिक अधिकार आफू र बिजनेश पार्टनर पौड्यालको रहेको छ ।
यो पनि पढ्नुहोस्
विवादित व्यापारी सुहृदराज घिमिरेले यसरी कब्जा गरेका थिए ललिता निवासको १३ रोपनी जग्गा