
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । विहीबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गर्दै माओवादीले आफ्नै नेतृत्वमा सरकार निर्माणको लागि पहल गर्ने निर्णय गरेको हो ।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए । “मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं, उहाँ पदमुक्त हुनुहुन्छ” आङ्बोले बताए । नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्छ, प्रदेश प्रमुखले सरकार गठन आह्वान गरेपछि केन्द्रीय गठबन्धन र यहाँको गठबन्धन बसेर निर्णय गर्ने उनले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मत लिएका छन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् ।
यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ४०, सत्ता सहयात्री दल राप्रपाको ६ सिट छ । त्यसैले मुख्यमन्त्रीलाई प्रदेशसभाको विश्वास आफूमाथि छ भन्ने पुष्टि गर्न थप एक मत आवश्यक पर्नेछ ।