
धनगढी। सुदूरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोकको आज सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक तथा कानुन मन्त्रालयले हिजो मङ्गलवार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत गरेको प्रदेश सरकारले गरेको छ ।
मन्त्री सिंह सुप प्र ०१००१ झ ४८० नम्बरको सवार गाडी गृह जिल्ला बझाङ जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सुदूरपश्चिम सरकारले आज बिहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ ।