
काठमाडौं । पैसाको लागि नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाललाई निर्दोष भन्दै कानुन व्यवसायीले बहस गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहसमा भाग लिएका कानुन व्यवसायीहरुले दुलालमाथि लगाएको आरोप झुटा भएको भन्दै रिहाईको माग गरिरहेका थिए ।
आज पनि थुनछेक बहस जारी छ । बुधबारको बसहमा सहभागी हुँदै अधिवक्ता विकास भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका केशव दुलाल ठगीमा संलग्न रहेको भन्ने दाबी नै गलत रहेको बताए ।
“‘दुलालले बयानमा सन्देश शर्माले आफू र आफ्ना मान्छेसँग अमेरिका मान्छे पठाउन एक करोड रुपैयाँ लिएको भनेको अवस्था छ, उहाँ आफैँ ठगिएको अवस्थामा उहाँले ठगेको भन्नु नै गलत हो” अधिवक्ता भट्टराईले भने ।
त्यसैगरी अधिवक्ता विकास थापाले शरणार्थीको बायोमेट्रिक गरेको कुरा पुष्टि नहुने दाबी गरे । चितवनमा गएर बायोमेट्रिक गरेर दुई करोड रुपैयाँ लिएको पुष्टि कसरी हुन्छ भन्ने उनको प्रश्न गरेका थिए । त्यस्तै, अधिवक्ता विश्वास आचार्यले गजेन्द्र बुढाथोकीले नगद दिएको आधारमै ठगी भनिहाल्न नमिल्ने बताए ।
अधिवक्ता योगेन्द्र अधिकारी, अधिवक्ता नरबहादुर योगी, अधिवक्ता राजन भट्टराईले समेत बहस गरेका थिए ।