
काठमाडौं । नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका छन् । अर्घाखाँचीबाट भैरहवा हुँदै भारत गएर लुकेको धेरैको अनुमान गरेका थिए । तर, त्यो अनुमान गलत सावित भएको छ ।
प्रहरीले रायमाझीको लोकेशन भैरवाह हुँदै भारततिरै देखाएको बताएको थियो । उनले प्रयोग गर्ने डिभाइसले भारत देखाएपछि प्रहरीको स्पेशल टीम खोजीमा गएको थियो । भारत पुगेको प्रहरीले रायमाझीलाई नभएर उनको मोबाइल बोकेका एक जना सहयोगीलाई समाउन सफल भयो ।
आइतबार साँझ रायमाझीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गर्यो । उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ । आज अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।
रायमाझी पक्राउ परेसँगै लुक्ने शैली जनयुद्धमा सिकेको कला प्रयोग गरेको भेटिएको छ ।
जनयुद्धको क्रममा तत्कालिन सुरक्षाकर्मीलाई छल्न माओवादी नेता – कार्यकर्ताहरुले एउटा ठाउँको लोकेशन देखाएर अन्तै लुक्ने गर्थे । त्यही कला प्रयोग गरेपनि रायमाझी ११ दिन भन्दा धेरै समय लुक्न सकेनन् ।
देशको उपप्रधानमन्त्री भइसकेका रायमाझीले अनुन्धानमा सहयोग गर्छु भनेर सरासर प्रहरीको सम्पर्कमा आउँदा जिम्मेवारीपन र नैतिकता रछ्यानमा पुग्ने थिएन ।
संगठित अपराधमा अनुसन्धानको ६० दिनको हदम्याद सकिन केही दिन मात्रै बाँकी रहँदा रायमाझी पक्राउ परेका छन् भने पूर्वगृहमन्त्री बादलका पुत्र प्रतिक भने फरार नै छन् ।