
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन नगर्ने निर्णयविरुद्ध असन्तुष्टी बढेको छ । विहीबार बसेको पदाधिकारी बैठकले अदालतको फैसला कुर्ने निर्णय गर्दै तत्काल निलम्वन नगर्ने निर्णय गरेको थियो ।
पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेपछि निलम्बनको प्रस्ताव गरेका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले त्यसलाई अस्वीकार गर्दै अदालतको फैसला कुर्ने अडान लिएका थिए ।
सहमहामन्त्री जीवन परियारले अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए । उनले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने र थप निर्णय गर्ने समेत बताए ।
खाँण पक्राउ परेपछि साथ दिँदै अगाडि बढ्न भन्दै काँग्रेसका युवा नेताहरु गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार पुगेका थिए ।
पदाधिकारी बैठकको निर्णयप्रति काँग्रेसका युवा नेताहरुले असन्तुष्टी जाहेर गरेका छन् । उनीहरुले तत्काल कारवाही गरेर प्रहरीको अनुसन्धानमा सहयोग गर्न माग गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई निजी सचिव नरेन्द्र केसीसहित प्रहरीले हिजाे बुधवार पक्राउ गरेकाे थियाे ।
यस प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अझै फरार छन् ।