
पदम श्रेष्ठ –
जीवन र जगत्बारे वैज्ञानिक, आत्मिक जागरण ल्याउनुहुने भगवान् बुद्धको जन्म सम्बोधी र महापरिनिर्वाण दिवस बुद्धजयन्ती संयुक्त राष्ट्रसंघले समेत बिदाको घोषणा गरी विश्वभर मनाईदैछ । थोरै जनलाई मात्र थाहभएको सवाल हो , नेपालमा भने चैत पूर्णिमाको ल्हुती पून्ही, वैशाख पूर्णिमा स्वायाँ पून्ही र ज्येष्ठ पूर्णिमा नम्रा पून्ही गरी तीनपल्ट बुद्धजयन्ती मनाइन्छ ।
उपत्यकामा शाक्य वज्राचार्य, र तराईका थारुले चैत पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउँछन् भने महायानी परम्परानुसार तामाङ, मगर, गुरुङ आदि समुदायमा नमोबुद्ध मेला लाग्ने दिन तीमाल जात्रालाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा छ । वैशाख पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा श्रीलङ्का, थाइल्यान्ड, बर्मा आदि थेरवादी देशको पात्रोअनुरूप भित्रिएको हो ।
जुन धर्माब्लम्विले जातिय संस्कार अनुरुप जहिले बुद्ध जयन्ति मनाएतापनि मुल बुद्धको दर्शन शान्ति अहिन्सा र सदाचारको सन्देशमा एकरुपता पाईन्छ ।
श्रृष्टिको बारेमा मात्र सवाल उठाउने हो भनेपनि …….
अन्य मतपन्थमा संसारको सृष्टि ईश्वरबाट भयो भन्ने गरिन्छ तर
बुद्धले ब्रह्माण्डको सृष्टि अलौकिक ईश्वरले नभई हेतु हेतु अर्थात्
पञ्चतत्वबाट भएको तथ्य पस्किएका छन् ।
पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी ) लाई हामी सुनेर, सुँघेर, स्वाद लिएर, देखेर र अनुभव स्पर्शद्वारा अनुभूति गर्न सक्छौं । पञ्चतत्वकै भोग इच्छाका कारण पाँच अंग नाक, कान, आँखा, छाला र शरीर उत्पति भएको मानिन्छ ।
यी हाम्रा अंगलाई ब्रम्हाण्डसंग तुलना गर्दा शरीरका प्वाल सबै आकाशको प्रतिक हो भने स्वर प्राण वायु, ताप अग्नि हो । त्यस्तै रगत–पसिनालाई पानी र हाड, मासु, नसा पृथ्वीको प्रतिकृति हो । शब्द, स्पर्श, रूप, रस र गन्धलाई पञ्चगुण मानिन्छ । यसरी हेर्दै जाँदा आकाश शून्यतामा उत्पन्न हुन्छ । अकाशमा वायु उत्पन्न हुन्छ । वायुले अग्नि, ताप र अग्निको कारण जल सृष्टि भयो बुद्ध दर्शनको सन्देश हो । यी सबैको संयोजनबाट पृथ्वी र पृथ्वीका प्राणी सिर्जना भए । जसलाई बौद्धवादी शून्यताबाट ब्रह्माण्डको सृष्टि भएको मान्दछन् ।
जुन सत्यलाई इ.पू. ५२३ मा नेपालको लुम्बिनीमा जन्मनुभएका गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि विश्वसामु उजागर गर्नुभएको हो । यहि सत्यलाई यसरीपनि व्याख्या गर्न सकिन्छ , पृथ्वी जलमा मिल्छ । जल अग्निले सुकाउँछ । अग्निलाई वायुले निभाउँछ र वायु आकाशमा हराउँछ । यसरी शून्यताबाट सिर्जित सृष्टि शून्यतामा नै बिलाएर जाने हुँदा बुद्ध शून्यवादमा आधारित वैज्ञानिक धर्म हो भनिन्छ ।
बुद्ध धर्म दुःख मुक्तिको उपाय
बौद्ध गुरूहरू बुद्धधर्मलाई परनिर्भरता विरुद्धको शान्तिपूर्ण आन्दोलन हो जुन दुःख मुक्तिको उपाय भन्न रुचाउछन् । बुद्धलाई बुझ्न संसारमा सबै प्राणी दुःखी छन् । दुःख उत्पन्नको कारण हुन्छ । जस्तोसुकै दुःखबाट मुक्त हुन सकिन्छ र दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्ग हो भनि स्पष्ट गर्न सकिन्छ । माथि चार सत्यलाई चतुर्आर्य सत्य भनिन्छ र चतुर्आर्य सत्यलाई बुझिसकेपछि हामीले पनि दुःख बारे स्पष्ट हुन सक्दछौंं ।
⦁ जन्मनु दुःख हो, वृद्ध जराहुँदै जानु दुःख हो र
रोगव्याधिले थला परी मृत्यु हुनु पनि दुःख हो भनी बुझिन्छ ।
⦁ दुःखको मूल कारण काम, क्रोध लोभ, मोह र अहङ्कार अर्थात् तृष्णा हो ।
⦁ बुद्धले दुःख मुक्तिको उपाय आर्य अष्टाङ्गिक मार्गलाई स्पष्ट पार्नुभएको छ । अन्य धर्ममा दुःख मुक्तिको उपाय ईश्वर भक्तिलाई मानेको पाइन्छ । तर बुद्धले धनी, गरिब, बलियो, निर्धो सबैलाई समान देख्ने सम्यक दृष्टि र सबैसँग मीठो बोल्ने ,सम्यक बचनलाई दुःख मुक्तिको उपाय मानेकाछन् ।
नेपाल विचित्रको बहुजाति ,बहुधर्मी ,बहुसंस्कृति को देश हो । यहाँ एकै समय ,एकै जाति ,धर्म संस्कृतिमा पनि भिन्ना भिन्नै पर्व मनाईदै आईरहेको छ । यस्तैमा बिश्वभर बुद्ध जयन्ति मनाईरहदा किरात समुदायमा चाँही यस दिन उधौली वा साकेला भव्य मनाईरहेकाछन् भने बनेपामा चण्डेश्वरी जात्रा ,पलाञ्चोक जात्रा
बुद्धजयन्तिकै दिन बनेपा भ्वतः चण्डेश्वरी जात्रा ः
नेपाल भाषामा त्यो पनि नेपाल नै हो भनिने बनेपामा प्रत्येक वर्ष
बुद्धजयन्तीको दिन चण्डेश्वरी अजिमाँको खट जात्रा हुने गर्दछ ।
चण्डीपूर्णिमाँ पनि भनिने यस दिन काभ्रेको ऐतिहासिक ८ नेवार बस्ती साँगा,
ख्वपासी, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौती एकसाथ जात्रामय बन्दछ । किराँतकालमा भुजुङ र तिव्बत मार्गको बस्ती भएबाट भोत भनिने बनेपाको चण्डेश्वरी जात्रा विशेष चर्चित छ । जुन जात्रा बनेपा नगरको ऐतिहासिक अष्टमातृका पीठमध्ये एउटा पीठ जगाउने जात्रा मानिन्छ । तर आख्यानुसार एक समय चण्डेश्वरी ललितपुरको बुङ्गद्यो रातो मच्छिन्द्रनाथको रथारोहण जात्रा हेर्न जाँदा ठूलो उत्पात गरी फर्किन्छन् । त्यसैले रातो मच्छिन्द्रनाथ चण्डेश्वरी जात्रा हेर्न बनेपा पुग्दा लाजले देवी चन्दनको रुखमा लुकी मरेको जस्तै गरी जात्रा अगाडि बढाएछन् । यहि आख्यानको आधारमा चण्डेश्वरीको मृत्यु भइसक्यो भन्ने देखाउन जात्रामा कहाँ बाजा बजाउने, टोपी–जुत्ता नलगाउने र देवतालाई मृतकजस्तै उत्तानो पारेर लैजाने परम्परा बाँकी नै छ ।
बुद्ध जयन्ति र पलाञ्चोक भगवतीजात्रा ः
किवदन्तीअनुसार काभ्रे पलाञ्चोकको बुच्चाकोतका एक जना
श्रेष्ठलाई सपनामा मलाई उत्तरतर्फ लानू भनी आदेश दिएछन् ।
अज्ञात कलाकारद्वारा निर्मित कालो ढुंगाको कलात्मक एक फिट अग्लो
भगवतीलाई लैजाँदै गर्दा बीचबाटोमा देवता जानै मानेनछन् ।
जहाँ देवीलाई प्रतिष्ठापित गरी मखन बहालका वज्राचार्य पुजारी राखी जात्रा थालेको बताइन्छ । बुद्धजयन्तीका दिन बनेपा चण्डेश्वरी जात्राको मूल पूजा भैरहँदा पलाञ्चोक भगवती जात्राका लागि द्यःछेबाट धामी काम्दै भगवतीलाई खटमा प्रतिष्ठापित गराइन्छ । बनेपा चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नाक्साल भगवती, साँगा नासिका र शोभावती दिदी–बहिनी भएको कारण पलाञ्चोक भगवती जात्राअघि उल्लिखत देवस्थलबाट फूल–अक्षता र जल ल्याउने परम्परा छ । जल–प्रसादसँग बोका बलि दिई ३ दिनसम्म भव्य खटजात्रा हुने गर्दछ । भनिन्छ, विश्वप्रसिद्ध कलात्मक पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारले अन्य ठाउँमा त्यस्तो मूर्ति बनाउन नसकोस् भनी दायाँ हात काटिदिए । बायाँ हातले नक्साल भगवतीको मूर्ति बनाएपश्चात् त्यही बायाँ हात पनि काटिदिएपछि खुट्टाले धुलिखेल भगवती र शोभा भगवतीको मूर्ति तयार गरी कला
को दुनियाँमा नमुना प्रस्तुत गरेको भनाई छ ।
उभौली (चण्डी पूर्णिमा) ः
वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला,
जब उत्तरी गोलार्धमा गर्मी शुरू हुन्छ,
तब भूमध्य सागर तिर क¥याङकुरुङका बथान चोमोलोंमा
(माउण्ट एभरेष्ट) काटेर साइवेरियातर्फ लाग्दछ ।
ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ति सा¥है सिथिल छ भन्ने थानी किसान खेत पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा, लेक्पा र सुलुली मन्दिरमा पुजाका लागि लाभा लस्कर सहित भेला हुन्छन् । वैशाख पूर्णिमा् बुद्ध जयन्तिको बेला किरात समुदाय सुंगुर, गोरु, भेडा, राँगा आदी बलि दिएर उभौलि मनाइरहेका हुन्छन् । किरात मुलतः मुर्ति पूजक होइनन् तर साकेला (उभौली) पर्वमा मुर्ति पूज्ने प्रथा बारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ । पृथ्वी उत्पत्ति सँगै लुगाका लागि सुम्निमाले तान बुनिरहेको ठाउँमा पारोहाङले अति राम्रो काँगियो (सुखुप) आकासबाट खसालि दिएछन् । खुसीले गदगद सुम्निमाले आवेगमा यति राम्रो काँगियो खसाल्ने सँगै विवाह गर्ने प्रतिज्ञा गरिन् । तत्काल बूढोको भेषमा देखिएका पारोहाङ्गलाई देख्दा भने सुम्निमाले कुरूप बूढा सँग विवाह नगर्ने बचन फेरिन् । बोलीको टुङ्गो नभएकी सुम्निमालाई झुक्याएर पारोहाङ्गले बीज खुवाइदिए, नभन्दै उनि गर्भवति भईन् । सो कुरा सुलुली युवकले सुम्निमालाई सुनाए, तत्काल सोच्दै नसोची आफूले कसैसँग शारीरिक सम्पर्क नगरेको हुँदा गर्भ रही छोरी जन्मी भने तिमीसँग नै विवाह गरिदिउँला । नभन्दै फेङमा नाउँकी छोरी त जन्मिइन तर छोरीले लेक्पा नाउँका केटालाई मनपराउन थालिन् । सुम्निमाले धनु र तरवार युद्धमा जसले जित्ला उसैसँग फेङमा छोरीको विवाह गराईदिने घोषणा गरिन् । फेङमाका लागि लेक्पा र सलुलीबीचको युद्धमा लेक्पाको हत्या हुन्छ । आफ्ना प्रेमीको् हत्यामा भावविहवल फेङमा पनि सोही तरवारले सेरिएर आत्महत्या गर्छिन् भने सुलुलीको पनि हृदयघाट भई देहान्त हुन पुग्दछ । यहि आख्यानका आधारमा लेक्पा, फेङमा र सुलुली थानमा पुजा गर्न जाने परम्परा बसेको बताइन्छ भने प्रत्येक वर्ष साकेला नाच्दा किराती पुर्खा सुम्निमा र पारुहाङका शिष्यबीच धनु तरवार युद्ध प्रतियोगिता हुँदै आइरहेको पाइन्छ ।
१५ दिनेचण्डी पुर्णिमा ः
वैशाख पूर्णिमा देखि झण्डै १५ दिनसम्म वर्षात राम्रो भई अन्नपात सुप्रियोस भनि कामना गर्दै साकेला उभौली नाचेर मनाइन्छ । किरातका ४२ भाषा मध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ्ग भाषामा साकाल, थुलुङ्ग भाषामा तोषी, खालिङ भाषामा भूमेपूजा, बाम्बूले भाषामा मानियो सिल्ली, कुलुङ्ग भाषामा साख्ले सिल्ली, छिन्ताङ्ग भाषामा वाधाङ्ग र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिल्ली पृथ्वीमा श्रृष्टि भएका सम्पूर्ण जिव युद्ध परम्परागत गतिविधी प्रर्दशन गर्दै नृत्य गर्ने गरिन्छ । चण्डी नाच अर्थात् साकेला सिल्ली बारे प्रचलित किवदन्ती अनुसार पारुहाङ्ग सुम्निमा बीचको सम्बन्धबाट पहिलो मानिस,, दोश्रो बाघ,, तेस्रो भालु,, र चौथो बाँसको जन्म भयो । बच्चा हुकर्दै जाँदा एक्लो सुम्निमालाई छोडेर पारुहाङ गायव भएछ । शिकार र कन्दमूल खोज्ने क्रममा सुन्निमाले ढुंगा माथि एक किसिमको लहरा फेला पारिन् । त्यो लहरा चाख्दा मनलाई सौर्यवान् विर्यवान प्रफूल्लित मनको कुरा पोख्न उत्प्रेरित गर्ने खालको गुण पाइन् । एकदिन अचानक घर आइपुगेका पारुहाङ्गलाई सुन्निमाले त्यही बुटी खुवाइन् र बुटीको स्वभाव अनुरूप हर्ष विभोर पारुहाङले आफू स्वर्ग र नर्कको दुष्यावलोकन गर्ने चोमोलिङमा (विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट) ध्यानमा बसेको बताए । यसैबीच आफ्ना चार सन्तानलाई हुर्काएकोमा भाव विभोर हुँदै पारुहाङ सुन्निमाका साथ नाच्न थाले । यस आख्यानको आधार पनि साकेला सिल्ली नृत्यमा हुने गर्दछ । अर्को किवदन्ती अनुसार दोलखाका किराती राजा बुद्धहाङ्ग आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्टो पुनः प्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानिय टुँडिखेलामा भेला गराई कूलदेवता हेन्कुबुङ्गको भव्य पूजा गर्दथे । मुन्धुम धर्म शास्त्र अनुसार पूजा क्रममा राजा बुद्धहाङ्गलाई बहिनी सोइसोइलाले भृगु चराको प्वाख जति श्रीपेच पहिराई दिने गर्थिन् । यसै क्रममा एक पल्ट बहिनी सोइसोइला मासिक रक्तश्राप हुन पुगिछन् । लाज र ग्लानी वंश श्रीपेच त्यही फ्याँकी सोइसोइला जङ्गल पसिन् । आश्चर्य चकित जनसमुदायले “कुम्भादो सोइसोइला, कुम्भादो” भन्दै बोलाउन थाले तर सोइसोइला फर्किनन् । भुईमा खसेको श्रीपेच ढुंगामा परिणत हुन पुग्यो । तत्काल त्यहाँ दुई समुह देखा परे– दोलोको शाक्ति सोइसोइला सँगै जंगल गयो भनि विश्वास गरी अड्डीकस्ने प्रकृति पूजक लिम्बु कहलाए भने दोलोको शक्ति श्रीपेच खसेकै ढुंगामा छ भनि विश्वास गर्ने खुम्बु (राई)का रूपमा प्रख्यात भए । त्यसै बेलादेखि किरातीहरू चाड पर्वका बेला नाम्छोङ्ग पुरोहितद्वारा चोखो शुद रही पारुहाङ्ग–सुम्निमाको प्रतिक दुई ढुंगा र बीचमा सानो लुङ्ग उभ्याई नाच गान सहित पूजा गर्ने परम्परा थालनी भएको हो ।