
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले इतिहासका कुनातिर मिल्काइएका सामन्तहरु बाहिर आएको बताएका छन् । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको बताए ।
“हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ । इतिहासले, आम नेपाली जनताले, कुन कर्कटमा फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझै पूर्वबाट रे । मेचीबाट तपाईंहरुले हिसाब गर्नुभएकोे छ नि” प्रचण्डले भने । प्रचण्डले आफूले त्यसको आफूले फागुन १ गते जनयुद्ध दिवस बिदा दिएर दिएको बताउँदै त्यस्ता प्रवृत्तिका विरुद्ध खडा हुनु पर्ने बताए ।
अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतको आदेश कार्यान्वयन गर्दा समेत स्याल हुइया मच्चाइएर परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरुविरुद्ध षडयन्त्र भइरहेको बताए ।
कार्यक्रममा बोल्दै प्रचण्डले प्रत्येक सकारात्मक पहल र निर्णयविरुद्ध प्रहार भइरहेको बताए । उनले भने, “हिजो क्रान्तिमा लागेका महान् सहिदहरूलाई सहिदको रूपमा सम्मान गरिनुपर्छ, चाहे त्यो जनयुद्धका हुन् या जनआन्दोलनका । राष्ट्र र परिवर्तनका लागि लडेका र प्राण उत्सर्ग गरेका सबै सहिद हुनुपर्छ भन्दा प्रहार भयो ।”
बहिर्गमित जनमुक्ति सेनालाई दुई लाख दिने निर्णयको विरोध तर्फ संकेत गर्दै प्रचण्डले भने, “हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थितिमा र देशको सर्वोच्च अदालतले ती बहिर्गमितलाई दुई लाख दिनु भनेर फैसला गरेपछि मैले त्यही फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुइया मच्चाउन खोजिएको छ ।”