
काठमाडौँ । उपचुनाव अन्तरगत तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । तीनवटै निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नागरिकता प्रकरणमा रवि लामिछाने दोषी ठहर भएपछि चितवन २ उपचुनाव भएको हो भने तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।