
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की सिफारिस हुन सकेनन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको असहयोगका कारण आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस बैठक विना निष्कर्ष सकिएको छ ।
कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न ओलीले सहमति जनाएनन् । उनले घुमारो तरिकाले कार्कीलाई प्रधानन्यायाधीश सिफारिसबाटै रोकेका छन् । प्रधानमन्त्रीको अध्यक्षमा सिंहदरबारमा बैठक बसेको थियो । आजको बैठकमा सहमति नजुटेपछि अर्को बैठक बस्ने सहमति भएको छ ।
प्रधानमन्त्रीको प्रस्तावमा असहयोग गर्दै ओलीले पहिला संसदीय समितिको टुंगो लाग्नु पर्ने बताएका थिए ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र कानुन मन्त्रीका हैसियतमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
कामुप्रधानन्यायाधीश कार्कीले संसद विघटनको मुद्दामा आफूलाई असहयोग गरेको बताउँदै आएका थिए । ओलीले सोही बदला लिन प्रधानन्यायाधीश सिफारिसमा असहयोग गरेको बताइएको छ ।