आज :

पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण गरिंदै

  • अनलाइन डबली

 चैत २१, भक्तपुर । मध्यपुरको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा प्रशिक्षण तयारीको लागि ६ महिनाको समय निर्धारण गरिएपनि औपचारिक प्रशिक्षण भने तीन महिना मात्र दिइएको हो ।
कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्र्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाए । एक फरक सन्दर्भमा भक्तपुरको जुजु धौ, लोकल रक्सी, चिउरा, तोरीको तेल लगायतलाई वैध बनाएर स्थानिय युवाहरुलाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए ।
‘स्थानिय उत्पादन प्रवद्र्धनमा ध्यान दिनसके मात्र युवाहरुलाई स्वरोजगार बनाएर विदेशिने क्रम न्यूनिकरण गर्न सकिन्छ । विदेशी रक्सीलाई आयात गरेर स्वदेशमै उत्पादन हुने रक्सीमाथि छापा मारेर प्रहरीले तमासा देखाइरहेको छ । अब यो क्रम रोकिनुपर्दछ ।’ माननीय थापाले बताए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए । धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृतिलाई आर्थिक पाटोसँग जोड्नुपर्नेमा जोड दिए । मूर्त र अमूर्त सम्पदालाई पर्यटन तथा कला प्रर्दशनीमार्फत व्यावसायिकरण गर्ने र गराउने क्षेत्रमा नगरपालिका सहकार्य गर्न तयार रहेको जनाए ।

मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्री श्रीगोपाल प्रजापति मुख्य बाजा गुरु र कृष्ण प्रजापति सहायक गुरु रहेको बाजा प्रशिक्षणलाई औपचारिक कार्यक्रमकाबीच समापन गरिएको छ । नेवार संस्कार बमोजिम नासःद्यः अर्थात नाट्यश्वरलाई आह्वान गरी पूजाविधि गरेपछि प्रशिक्षार्थीहरु अनिवार्य रुपमा दिक्षित हुनुपर्ने प्रावधान रहेको बताइन्छ । सो आधारले पनि सुरुमा तीन दर्जन प्रशिक्षार्थीहरु सहभागी रहेपनि औपचारिक प्रशिक्षण समापन कार्यक्रममा २५ जना प्रशिक्षार्थीहरु दिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जनाए ।
‘हामीले पूर्खाको नासोको रुपमा रहेको अमूर्त सम्पदालाई सन्ततिमा पुस्तान्तरण गरेका छौं । खुसीको कुरो औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा १३ वर्षे किशोरदेखि दुई जना महिलाहरु पनि सहभागी छन् ।’ कार्यक्रम संयोजक प्रजापतिले बताए ।
हुनपनि केही दसक अगाडिसम्म महिलालाई धिमे बाजाबाट औपचारिक रुपमा दिक्षित गर्न नहुने मान्यता थियो । महिनावारी भएकी महिलाको उपस्थितिले नाट्यश्वर आह्वान गरिने पूजाविधिमा बाधाविघ्न पैदा हुने बताइन्थ्यो । तर बदलिंदो परिस्थितिसँगै किसली पूजा गरी परम्परागत शैलीले दिइने प्रशिक्षणमा महिला सहभागिता बढ्दै गएको देखिन्छ । पाचो धिमे खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षण कार्यक्रममा तिलश्मी र चन्द्रलक्ष्मी प्रजापतिको उपस्थितिले अन्य महिलाहरु समेत हौसिएका छन् । तिलश्मी प्रजापति धिमे बाजाकी कलाकार मात्र नभएर यसअघि नै व्यावसायिक बांसुरी बाधन हुन् । उनले थुप्रै डबलीमा आफुलाई कुशल बांसुरी बाधकको रुपमा प्रस्तुत गरिसकेकी छन् ।
कार्यक्रममा वाग्मती प्रदेशसभाकी सांसद माननीय धनेश्वरी प्रजापति, मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापति, निवर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, गुंला बाजा तथा भैलः नाचका गुरुहरु, जनप्रतिनिधि, संस्कृतिप्र्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता थियो ।  
औपचारिक समापन कार्यक्रम अघि बाजा प्रशिक्षण लिएका युवाहरुलाई चपाचोस्थित गणेश मन्दिर अगाडि सामुहिक सगुन (मंका सगं) दिइएको थियो । सगुन कार्यक्रम पश्चात् सामुहिक बाजा प्रदर्शनी समेत देखाइएको थियो । नेवार संस्कारमा शुभकार्यको थालनी गर्न पञ्चतत्वसहितको सगुन दिने परम्परा रहेको छ । दहि, उसिनेको अण्डा, रक्सी, माछा लगायतका खाद्य बस्तु सम्मिलित गरेर सगुन दिने परम्परा रहेको छ । धिमे बाजा प्रशिक्षण कार्यक्रमको ६ महिनासम्म भिमसेन प्रजापतिले ठाउँ उपलब्ध गराएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal