
काठमाडौं । जासुसी परिचालनको नाममा आफू खुशी खर्च पाउने कार्यविधि खारेज गर्ने सरकारले निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको उक्त कार्यविधि खारेज गरिएको हो ।
योसँगै अब गृहमन्त्री र सचिवले आफू खुशी दैनिक लाखौं रकम खर्च गर्न पाउने छैनन् । सरकारका प्रवक्ता रेखा शर्माले गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षासम्बन्धी व्यवस्था अनुसार जासुसी परिचालनमा हिसाब किताब गर्न नपर्नेगरी जुन खर्च गर्ने कार्यविधि खारेज गरिएको जानकारी दिइन् ।
श्रेष्ठले पदभार ग्रहणकै क्रममा उक्त कार्यविधि खारेज गर्ने घोषणा गरेका थिए । उक्त प्रस्ताव मन्त्रिपरिषद पुगेको थियो ।
अहिलेसम्मका सबै गृहमन्त्रीले लाखौं आफू खुशी खार्च गर्दै आएका थिए । गृहमन्त्रीले आफ्ना कार्यकर्तालाई मनलाग्दी तरिकाले रकम वितरण गर्दै आएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पनि यो कार्यविधि खारेजीबारे छलफल भएको थियो तर ओलीले नै बचाउ गरेका थिए । त्यस्तै, सुशासनको नारासहित गृहमन्त्री बनेका रवि लामिछानेले समेत उक्त कार्यविधिको बचाउ गरेका थिए ।
आजबाट अब सरकारको करोडौं रकम बच्न भएको छ ।