
काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन् । गृहमन्त्री श्रेष्ठले नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने बताउँदै नयाँ नीति योजना आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए ।
सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले भने, ‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन, गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’ उनले शासकीय अहंकार देखाउने र त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा केन्द्रित हुन नहुने बताए ।
सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उहाँले जोड दिए । ‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ, प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ’ ‘ श्रेष्ठले भने ।
राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको बताए ।
संगठनको सुद्धीकरण सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताउँदाै कुँवरले त्यसका लागि आफू दृढताका साथ लागेको उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गरेका थिए ।