
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । त्यसको लागि सत्तासाझेदार दलहरुसँग छलफल तीब्र पारेका छन् । विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका प्रधानमन्त्रीले छलफललाई तीब्र पारेका छन् ।
सरकारमा सहभागी हुने दलहरुभित्रै कुरा नमिलेकाले त्यसले आकार लिन नसकेको बताइएको छ । नेपाली काँग्रेसबाट मन्त्री बन्ने नेताहरुको लामै लाइन लागेपछि सभापति शेरबहादुर देउवालाई पनि सकस परेको छ । प्रधानमन्त्रीका कारण भन्दा पनि सहभागी हुने दलकै कारण केही सकस जस्ताे देखिएको नेकपा माओवादी केन्द्रका नेताहरु बताउँछन् ।
सरकारमा सहभागी हुन दश दल तयारी अवस्थामा छन् । काँग्रेसले १० मन्त्रालयका दाबी गरेको छ । उसले अर्थसहित १० मन्त्रालयकाे दाबी गरेको छ । काँग्रेसले अर्थ नपाए गृहको दाबी गरेको छ । ‘हाम्रो पहिलो प्राथमिकता अर्थ हो त्यो प्रधानमन्त्रीले राख्ने भए गृह भनेका छौं’ काँग्रेसका एक नेताले भने ।
नेपाली कांग्रेसले उपप्रधानसहित ७ मन्त्रलाय दिन प्रधानमन्त्री तयार रहेपनि उसले ८ मन्त्रालय दाबी गरेको छ । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खुट्टा उचालेर बसेको छ । उसले पनि ३ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) ले ३ , नेकपा एकीकृत समाजवादी ३ र जनमत पार्टीले २ मन्त्रालयको दाबी गरिरहेका छन् ।
दलहरुले दाबी गर्नु स्वभाविक भएपनि अन्तिम निर्णय शिर्ष नेताले गर्ने बालुवाटार स्रोत बताउँछ ।
काँग्रेससँगै एकीकृत समाजवादी र रास्वापाले पनि पुनः गृहकै दाबी गरेको छ । तर गृह नदिन माओवादीका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड पनि जनतालाई प्रभावकारी सेवा दिन लागिपरेकाले गृहलाई आफैसँग राख्ने साेँचमा रहेको बताइएको छ । गृह माओवादीले नै राख्ने सम्भावना बढी भएको हुँदा नेताहरुबीच आन्तरिक छलफल सुरु भएको छ । गृहमन्त्री कसलाई बनाउने भन्नेमा नेताहरुबीच पनि छलफल भएको छ ।
एक नेताका अनुसार माओवादीले गृह पाउने अवस्थामा उपमहासचिव शक्तिबहादुर बस्नेतले जिम्मा पाउने बताउँछन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका विश्वासपात्र समेत रहेका बस्नेत यसअघि पनि गृहमन्त्री भइसकेकोले चलाउन सजिलो हुने तर्क बलियो छ । त्यस्तै गृहमा हितबहादुर तामाङ र सूर्यमान दोङको पनि चर्चा छ । केही नेताहरुले सबै नयाँ अनुहार पठाउँदा सन्देश राम्राे जाने भन्दै नयाँलाई मन्त्री बनाउन लागिपरेका छन् ।