आज :

सिंहको पुस्तक ‘वैज्ञानिक समाजवादका आधारहरु’ सार्वजनिक

  • अनलाइन डबली

काठमाडौँ । लेखक पूर्णबहादुर सिंहको पुस्तक ‘वैज्ञानिक समाजवादका आधारहरू’ सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिकरण कार्यक्रममा बक्ताहरुले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको धारणा राखेका थिए ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रको व्याख्या गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादन सम्बन्धअनुरूपको सामाजिक सम्बन्धको अन्त्य मानिसको चेतनामा निरन्तर क्रान्तीकरणका लागि स्थापित राज्यसत्ता सञ्चालन गर्न सङ्घर्षरत रहने भन्दै वैज्ञानिक समाजवादमा बुर्जुवा वर्गीय अधिनायकत्वको अन्त्य गर्ने साम्यवादका लागि सङ्क्रमणकालीन व्यवस्थाका रूपमा सर्वहाराको वर्गीय अधिनायकत्वलाई आत्मसाथ गरेको हुने बताए ।

समाजवाद मानव जातिलाई मानवका रूपमा व्यवहार गर्ने सबैभन्दा सभ्य प्रणाली भएको भन्दै कञ्चनले पुँजीवादी व्यवस्थामा मानिसको निरन्तर प्रगतिका लागि विकास हुने भौतिक संरचना पुँजीपति वर्गले गैरपुँजीपति वर्गमाथि उत्पीडन गर्ने साधन हुने बताए । जति सुधारिएको संसदीय व्यवस्था भए पनि त्यसबाट जनताको पूर्ण मुक्ति सम्भव नहुने भन्दै उनले यो व्यवस्थामा शतप्रतिशत मत प्राप्त गर्ने कम्युनिस्ट नामकै दल वा व्यक्तिले पनि जनताका पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल ‘गौरव’ ले सामन्ती पुँजीवादीहरूको समाजवाद भनेको आज भइरहेको समाजवाद भएको बताए । प्रचण्डहरूले क्रान्तिकारी विचार सबै छोडेर गएकाले यो संविधानमा उल्लेख गरिको समाजवाद समाजवाद नै नभएको उनको भनाइ थियो । नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने वस्तुगत आवश्यकता औँल्याउँदै नेता गौरवले वर्तमान संविधानमा भएको भ्रम चिर्न आवश्यक रहेको बताए ।

कार्यक्रमको नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले समाजवादले वर्गविभेदको अन्त्य गर्ने बताए । विद्यमान असमान उत्पादन सम्बन्धलाई समूल नष्ट गर्दै यो उत्पादन सम्बन्धले पैदा गरेको सामाजिक सम्बन्धको अन्त्य गर्ने र त्यसले विचारलाई क्रान्तिकारीकरण गर्ने उनले बताए । समाजवादी व्यवस्थाले जनताका आधारभूत आवश्यकताहरूको हल गर्ने, जनता स्वाधीन र स्वतन्त्र हुने भन्दै समाजवाद भनेको अब टाढाको व्यवस्था नरहेको उनको भनाइ थियो । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताबाटै समाजवादी संस्कृति सुरु गर्नुपर्ने भन्दै उनले चिन्तन पद्धति र जीवन व्यहारमा समेत समाजवादी संस्कृति लागू गर्नुपर्ने बताए ।

वामपन्थी नेता श्याम श्रेष्ठले जनताको मुद्दा सडकमा लिएर जनआन्दोलन उठाउन आवश्यक रहेको भन्दै यही युगमा वैज्ञानिक समाजवाद सम्भव भएको बताए । यो व्यवस्थामा समाजवाद सम्भव नहुने भन्दै उनले अहिले कम्युनिस्ट नामका पार्टीहरूले चुनाव जितेका ठाउँहरूमा पनि राम्रो काम गर्न नसक्नुको कारण ती पार्टी पनि अरू संसद्वादी पार्टी हुनुको परिणाम रहेको उनको भनाइ थियो । कम्युनिस्टका नाउँमा जितिएको ठाउँमा पनि जनताको जीवनमा कुनै परिवर्तन नभएको उनले बताए । माक्र्स, लेनिनदेखि माओसम्मको इतिहासलाई अध्ययन गरेर त्यसमा भएको विकासलाई नयाँ संश्लेषण गर्दै एउटै विचार मिल्ने पार्टीहरू एकजुट हुन उनले सुझाव दिए । इतिहासभन्दा पनि भविष्यको चिन्ता गरेर पार्टीहरूल एक हुनुपर्ने उनको सुझाव थियो ।

यस्तै विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पुँजीवादी व्यवस्थाले युवाहरूलाई विदेश पलायन र विदेशी यौनबजारमा पठाएर शासकहरूले दौरा–सुरुवाल लगाउने काम गरेको बताए । पुँजीवादले फैलाएको भ्रम चिर्नु आवश्यक रहेको भन्दै उनले समाजवादको पुनस्र्थापना गर्नुपर्ने पनि बताए । सबै कुराको पुनर्भाष्य गर्नुपर्ने उनको भनाइ थियो । सोचाइ र दृष्टिकोण बदल्नुपर्ने र समाजवादका विषयमा पुँजीवादले छरेका भ्रमहरू चिर्नुपर्ने उनले बताए । दृष्टिकोण वैज्ञानिक र द्वन्द्वात्मक भएन भने वैज्ञानिक समाजवादी कोही हुन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा ‘वैज्ञानिक समाजवादका आधारहरू’ पुस्तकका लेखक नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंहले वैज्ञानिक समाजवादभन्दा उत्तम व्यवस्था कुनै नभएको भन्दै आफूलाई विद्वान् भन्नेहरूले भ्रमपूर्ण पुस्तकहरू लेखेकाले धेरै मानिसहरूको दिमाग बिग्रिएको तर वैज्ञानिक समाजवादको अध्ययन र क्रान्तिले बिग्रिएका मस्तिष्कहरू ठीक ठाउँमा आउने बताए । मानिसहरूको दिमाग भ्रष्टीकरण गर्ने किताबहरू जलाउनुपर्ने भन्दै उनले पुँजीवादले युवाहरूलाई भ्रमित र पलायन बनाएकाले त्यसलाई रोक्ने काम क्रान्तिकारी माआलेमावादीहरूको रहेको धारणा राखे ।

कार्यक्रममा नेकपा (बहुमत) का संयोजक कञ्चनले तयार पारेको अवधारणापत्रमाथि नेकपा (बहुमत) निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष खेम थपलिया, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, युवा जनस्वयम्सेवकका अध्यक्ष हरिश भट्ट, क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेललगायतले विषयमाथि आआफ्नो सङ्क्षिप्त अवधारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal