
काठमाडौँ । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले आफ्नो पदीय हैसियत र मर्यादाविपरित संचार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यिक्त दिएको भन्दै दुःख व्यक्त गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले शनिबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेलाई शुक्रबार बधाई दिन पुगेको महासंघको प्रतिनिधिमण्डलसँग संचार क्षेत्रबारे दिएको अभिव्यक्तिले आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
त्यसैगरी सभामुख घिमिरेले आफ्नो अभिव्यक्ति फिर्ता नलिए कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।
यस्तो छ महासंघको विज्ञप्तिः
संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर नेपाल पत्रकार महासंघले गरेको छ ।
सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।
नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।
सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन ।
महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहान्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ ।
सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ ।