
काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालका अनुसार मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ । त्यसलगत्तै ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने कार्यालयले जनाएको छ ।
निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ । जसपाकी प्रमिला कुमारी यादवले उम्मेदवारी निष्कृया पारेकी छन् । तर, उम्मेदवारी फिर्ता लिने बेला फिर्ता नभएकोले मतपत्रमा भने फोटो र नाम प्रकाशित गरिएको छ ।
जसपाका रामसहायप्रसाद यादवलाई नेपाली काँग्रेसले समेत मतदान गर्ने निर्णय गरेको छ ।
यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपति निर्वाचनमा झा को पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् ।
नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छिन् । निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।