आज :

अदानचुलीका अध्यक्ष–उपाध्यक्षबीच जुङ्गाको लडाइँ, साँढेको जुधाई बाच्छाको मिचाई

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको टकराबको कारण लामो समयदेखि जनताको दैनिक सेवासुविधामा समस्या झेल्नु परेको स्थानियको गुनासो छ । गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेललाई भ्रष्टाचार मुद्दा चलाएसँगै उनि निलबनमा परेका थिए । प्याकुरेलको रिक्त पदमा अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाले आ–आफ्नो पक्षमा प्रशासकिय प्रमुख नियुक्त गर्ने होडबाजी नै चलाएका छन् ।

यससँगै अध्यक्ष र उपाध्यक्ष दुई पक्षहरुबीचमा दोहोरीले निरन्तरता पाउँदै आएको छ ।
रिक्त पदमा अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई र उपाध्यक्ष कर्ण रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए ।

उपाध्यक्ष रोकायाले गाउँपालिकाको गत साउन ९ मा बसेको कार्यपालिका बैठकबाट पालीकामा आफ्नो बहुमत भएको दाबा गर्दै स्वास्थ्य सम्योजक महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेका थिए । तर, अध्यक्ष सिंहले आफ्नो सहमति बेगर उपाध्यक्षले बलमिच्याई गरेको भन्दै त्यसको जवाफमा शाहीलाई निमित्त तोकेपछि विवाद झन चुलिएको थियो । एउटै पालिकामा दुईजना प्रशासकिय प्रमुख भएपछि ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा’ जस्तै बन्न पुग्यो ।

स्थानिय चुनावमा गठबन्धन भए अनुसार कांग्रेसबाट पालिका अध्यक्षमा सिंह र माओवादीबाट उपाध्यक्षमा रोकाया निर्वाचित भएका थिए । दुबैजना एउटै गठबन्धनबाट बीजयी भएपनि उनिहरुबीच केमेस्ट्री मिल्न सक्नु नै मुल समस्याको कारक भएको एक जिल्ला नेता अनलाईन डबलीसँग बताउँछन् ।

अध्यक्ष सिंह पक्षका शाहीले अहिलेसम्म गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार हेर्दै आएका छन् । अध्यक्ष सिंहको आदेशमा प्रशासकिय प्रमुख शाहीले पालिकामा भन्दा बढी प्रदेश राजधानी सुर्खेतमा बसेर पालिकाको प्रशासन चलाउने गरेको आरोपसमेत उपाध्यक्ष रोकायाले लगाउँदै आएका छन् ।

२०७९ पुष २९ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गाउँपालिकाको विवाद हल गर्न भन्दै नन्दराज गिरीलाई प्रशासकिय प्रमुखमा खटाएको थियो । अध्यक्ष सिंहले आफूहरुसँग साल्लाह नगरी गिरीलाई पठाएको भन्दै उनलाई अस्वीकार गरेका थिए । २०७९ माघ ५ गते अध्यक्ष सिंहको सहमतिमा निमित्त प्रशासकिय अधिकृत मेघनाथ शाहीले आफू पालिका भन्दा बाहिर कामकाजमा जानुपर्ने कारण देखाउँदै पाँचौ तहका अर्जुन शाहलाई माघ ८ गतेबाट लागु हुनेगरी प्रशासकिय प्रमुखको जिम्मेवारी पत्र थामएका थिए ।

पुनः फागुन १४ गते संघिय मामिला तथा प्रशासन मन्त्रालयले ७ औं तहका रवि रानाभाटलाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधृकतमा पठाएको थियो । तर, अध्यक्ष सिंहले रानाभाटको विषयमा गाउँपालिकामा उपाध्यक्षले सहमति नजुटाई आफ्नो एकल पहलमा ल्याएको भन्दै उनलाई पनि अस्वीकार गरेका छन् ।

‘अध्यक्ष र उपाध्यक्षबीचको मनमुटाबले पालिकाभरी समस्या भएको भन्दै काँग्रेस तथा माओवादीका नेताहरुले उनिहरुलाई मिलाउन धेरैपटक छलफल तथा बहस गरेतापनि समस्याको चुरो पत्ता लगाउन सकेका छैनन्’, स्रोत बताउँछ । यसरी दुइजनाबीचको अनन्तसम्मको लडाईले पालिकाभरी जनताले ‘साँढेको जुधाई, बाच्छाको मिचाई’ जस्तै बनेको देखिन्छ । यसबाट पालिकावासीको दैनिक सामान्य कामकाजमासमेत समस्या झेल्नु त परेको छ नै, यसले गठबन्धनबीचमा पनि टाउको दुःखाईको विषय बनेको छ, एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal