
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्मा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले संसद्मा कानुन निर्माण गर्दा महिलाहरुले नै सबैभन्दा बढी संशोधन गर्ने भए पनि त्यसको मूल्यांकन हुन नसकेको बताइन् ।
“संसदभित्र हेर्यौं भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै संशोधन महिलाले नै हाल्छन्, संसद्मा कोरम पुर्याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तर पनि बाहिर आउँदा मूल्यांकन हुँदैन, चर्चासम्म पनि हुँदैन । संसद्मा हेरेर सबैभन्दा बढी कानुन बनाउने कुरामा महिला सक्रिय छन् कि पुरुष यसको पनि मूल्यांकन हुनुपर्छ । संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ, यस कुरा चर्चाको विषय बन्नुपर्छ” मन्त्री शर्माले भनिन् ।
अबसर पाएका सबै पुरुष सफल नभएजस्तै अबसर पाएका सबै महिला पनि सफल नहुने तर महिला असफल भए समाज नै असफल हुने बताउँदै मन्त्री शर्माले भनिन्, “महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ ।” उनले जतिसुकै कष्ट गरेर भए पनि हामी अवसर पाएका महिलाहरु उत्तीर्ण हुनुपर्नेमा जोड दिइन् ।