आज :

उपराष्ट्रपतिको उम्मेदवारी दर्ताकै दिन महन्थ, सिके र रेशमले गरे यस्तो घोषणा, गठबन्धनभित्र हलचल

  • अनलाइन डबली

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ ।

आज तीन दलबीच भएको बैठकबाट सो सहमति भएको लोसपाका नेता मनिष मिश्रले बताए । जनमतले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् । सो समर्थनपछि अगामी दिनमा कार्यगत एकताको घोषणा गरेका छन् ।

तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ– ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ ।’

सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।

यसअघि पनि जनमत र रेशम चौधरीले स्थापना गरेकाे नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाएका छन् । शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको बताएका हुन् ।

उनले भने – ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख/उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलीय गठबन्धन जुन छ, त्यो त महिला विरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरूले कानुन छले । त्यो कानुन छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरू वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो । तर त्यस्तो भइदिएन । संविधानले एउटा, एउटा हुनै पर्ने भनेपछि नभएर हुन्छ ? गर्नै पर्छ नि । अब आजसम्म पनि दश दलीय गठबन्धन जालझेल गर्न खोजिराखेको छ । अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा । पुरुष हुन्छ भने महिला । महिला हुन्छ भने महिला हुन सक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा । महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’

अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएका टिप्पणी गरे । उनले भने, ‘उनीहरू किन एकजुट हुन्छन् भन्दा तिनीहरू एकैतिर बसेर पनि एकैतिर फर्केर पनि बसेका छैनन् । चारैतिर, दशतिर फर्केर बसेका छन् । यताबाट एमालेले हान्छ कि, यता बाट हान्छ कि ? त्रास छ क्या तिनीहरूलाई । कताबाट भ्याउँछ । हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ । एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीकोले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो, मा¥यो । गाह्रो छ । आऊ भाइ हो सबै मिलेर लडौँ भनेर । त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरू एकातिर भएरै लडाइँ हुने हो । किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन् । हामी एक समयको एउटा राष्ट्रपति, एक समयको एउटा प्रधानमन्त्री आवधिक कुरामा मात्रै हेरिराखेका छैनौँ ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नाङ्गो दलाली गरेको बताए । दाहाल र नेपालले कम्युनिस्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए ।

उनले भने – ‘माधव नेपालले भर्खरै भाषण गरे । प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रस्ताव गर्नुभएको थियो, मैले मानिनँ काँग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रस्ताव गरे भनेर उहाँले आफैँले भन्नुभएको छ । वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईंहरुले देख्नै भएको छ । डाको छोडेर रोएका छन् उनी । वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ । माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ । यो नाङ्गो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो । भइरहेको वामपन्थी शक्ति आफ्नो पार्टी फुटाएर, ध्वस्त बनाएर, घरमा आगो लगाएर अनि त्यो खरानी पनि लगेर विरोधी, विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउँमा चढाउन ल्याएको छु भनेर पाउमा चढाउन जाने जस्तो घिनलाग्दो कुरो अरू के हुन्छ ? त्यही गरे ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal