काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी थिइन्।
अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ, शङ्कर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए। आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रो पटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।
यता उपराष्ट्रपतिका लागि सत्ता साझेदार दल जनता समाजवादी पार्टी र जनमत पार्टीले आआफ्नो दाबी गरेका छन् ।
जसपा र जनमतले आआफ्नो उम्मेदवार सत्ता साझेदार १० दलको साझा उम्मेदवार रहेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीले उम्मेदवार बनाउने ममता झालाई सत्ता साझेदार दलले समर्थन गरेको बताएका छन् ।
जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएपछि सत्ता साझेदार दलले ममता झालाई समर्थन गरेको दाबी अध्यक्ष राउतको रहेको छ ।
सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाले उपराष्ट्रपति पदको लागि प्रस्तावित गरेको र १० दलको बैठकले मनोनयन दर्ता गर्न अनुमोदन गरेको साझा उम्मेदवार आफ्नो पार्टीको उम्मेदवार ममता रहेकी दाबी गरे । ममता झा जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवार हुन् र त्यसलाई १० दलको बैठकले अनुमोदन गरेको दाबी गरे ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपराष्ट्रपति जसपाकै भागमा परेको हुनाले उम्मेदवार कसलाई बनाउने छलफल भइरहेको छ, जनमत वा अन्य कुनै दललाई समर्थन गर्ने कुरा नभएको बताए । उनले भने, ‘उपराष्ट्रपति पद जसपाको भागमा परेको छ, आठ दलीय गठबन्धनको समर्थन पनि रहेको छ हामी उम्मेदवारको बारेमा छलफल गर्र्दैछौं ।’
जसपाको पहिलो रोजाई रामसहाय यादव नै हो, उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय पनि भइसकेको छ, तर अहिले आएर केही अपव्याख्या भइरहेको छ, त्यसको विषयमा पार्टीले छलफल गर्न लागेको केही निर्णय सार्वजनिक हुने बताए ।