
काठमाडौँ । बालुटारमा बसेको माओवादी पार्टीहरुको बैठक सकिएको छ । शुक्रबार विहान प्रधानमन्त्री निवासमा सम्पन्न बैठकले जनयुद्धकालिन मुद्धा अगाडि ल्याएर माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजिएको भन्दै त्यसविरुद्ध एकजुट भएर शसक्त प्रतिवाद गर्ने सहमति भएको छ ।
आजको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय पनि गरेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए।
पहिलो चरणका कार्यक्रम अन्तरगत २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ।
त्यसैगरी अर्को बैठकले प्रदर्शनका कार्यक्रम तय गर्ने सहमति भएको नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले जानकारी दिए ।
“सबै कुरा अस्तीको बैठकमा छलफल भइसकेको थियो, आज प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमको ब्रिफिङ गर्नुभयो । २८ गते संयुक्त रुपमा पत्रकार सम्मेलन र ३० गते वृहत अन्तरक्रिया कार्यक्रम गर्ने आजको बैठकले निर्णय गरेको छ । देशभर जनप्रदर्शन अर्को बैठकले निर्णय गर्ने पनि सहमति भएको छ” सुशीलले भने ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा (बहुमत) का नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, नेताहरू कृष्णबहादुर महरा, देव गुरूङ, जनार्दन शर्मा “प्रभाकर”, देवेन्द्र पौडेल, खड्कबहादुर विक “प्रकाण्ड”, कर्णजीत बुढाथोकी लगायत उपस्थित थिए ।