
काठमाडौँ । आजबाट राष्ट्रपति पदका उम्मेदवारलाई भोट माग्न नपाइने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार निषेध गरेको छ । गएराति १२ बजेबाट मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने बताएका छन् । उनले उक्त व्यवस्था निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी समेत दिएका छन् ।
यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न-नगराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।
मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगको अनुरोध गरेको छ ।