
काठमाडौँ । आज राति १२ बजेपछि राष्ट्रपति चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर राष्ट्रपति निर्वाचनको मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरिएको जानकारी दिएका छन् ।
आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।
प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
आयोगकाे विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गरिएको छ । मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगको अनुरोध छ ।’
राष्ट्रपतिको निर्वाचनको लागि यही २५ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ ।