
काठमाडौँ । नेकपा महासचिव विप्लवले माओवादीलाई अपराधीकरण गर्न खोजिए २०६० सालको माओवादी फर्किने चेतावनी दिएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्याउने बताए ।
अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताउँदै विप्लवले भने, ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । यो लोकतन्त्रमा बनाउन खोजिँदै छ, माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहोर्याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’ उनले माओवादी अपराधी भनेरै भास्य निर्माण गर्न खोजिएको विप्लवले बताए ।
कार्यक्रममा बोल्दै विप्लवले माओवादी लुटेराहरू हुने भन्ने बजारमा सुनेको बताउँदै माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत आफूसँग रहेको बताए । ‘नेपालमा को हो हत्यारो ? अढाई सय वर्ष नेपाली जनतालाई टाउकोदेखि खुट्टासम्म लुटेर चुसेर अर्बौ सम्पत्ति थुपार्ने सामन्त फटाहहरु अपराधी हुन कि आफ्नो अधिकारको लागि मर्न तयार हुने विद्रोह गर्ने जनता अपराधी हो ? को हो अपराधी ?’ विप्लवले भने ।
बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठिठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिएको भन्दै विप्लवले भने, ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ । यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए ।’