आज :

माओवादीका सबै भङ्गालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रचण्ड

  • अनलाइन डबली

हामी माओवादी आन्दोलनका विभिन्न धाराका प्रतिनिधिहरू यहाँ उपस्थित छौँ। यस फाउन्डेसनले आज दिन खोजेको सन्देश शक्तिशाली सन्देश हो भन्न ठान्दछु। यो कार्यक्रमको अर्थ र महत्व धेरै ठूलो र दूरगामी छ। मैले यहाँ पार्टी अध्यक्षको रूपमा मात्रै नभई प्रधानमन्त्रीको रूपमा समेत बोल्दा नेपाल सरकारका केही महत्वपूर्ण काम र सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राखेको छु।

केही दिनअघि सहिद तथा बेपत्ता योद्धाका परिवारको तर्फबाट बालुवाटारमा कार्यक्रम भएको थियो। त्यहाँ एकराज भणडारीले सबैको तर्फबाट केही विषय गम्भीर ढंगबाट राख्नुभएको थियो। र, मैले यी भावना तथा विचारहरूलाई गम्भीर रूपमा लिएको छु भनेको थिएँ। अहिले पनि मैले तपाईहरूले उठाएका मुद्दाहरूलाई गम्भीर रूपमा नै लिएको छु।
हामी कमजोर छैनौँ। हाम्रो आन्दोलन कमजोर छैन। माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले पनि कमजोर छैन। हामी विभिन्न धारामा भए पनि यिनीहरू एकठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, अनि घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्।

हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखेकै कुरा हो, त्यो बेला पनि हामीविरूद्ध ठूलो घेराबन्दी गरिएको थियो। त्यसकारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने हामी सबैलाई जुन वोध भएको छ, यो एउटा शक्ति ठान्छु। म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु। एकचोटी माओवादी एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन्। माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरू गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन, म विशेष रूपमा तपाईहरूलाई अपील गर्दछु– दृढ संकल्पका साथ एकठाउँ उभिउँ।

काठमाडौंकै जगडोलमा सम्पूर्ण सहिदहरू र बेपत्ता योद्धाहरूको समृति र सरकारबाट घोषणा गरिएका सहिदहरूको नाम उल्लेख गरिएको पार्क उद्घाटन गरिसकेको छु। यो आफैमा ठूलो परिघटना हो। फागुन १ गतेलाई जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक निर्णय र वैधानिक घोषणा भयो। यो आफैमा अर्को एउटा कोशेढुङ्गा नै हो। जनयुद्ध, यसका सहिदहरू र बेपत्ता योद्धाहरूका त्याग तपस्या र बलिदानलाई स्थापित गर्न कुरामा सरकार दृढतापूर्वक लागिरहेको छ। अहिले पटकपटक गरिएका सहिद घोषणालाई राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको छ। यी सबै निर्णयहरूले के कुरालाई राम्रोसँग संकेत गरेको छ भने हजारौं सहिद तथा बेपत्ता योद्धाहरू र तिनका सपनाहरू कसैले जबर्जस्ती बदनाम गर्न खोज्दैमा वा दबाउन खोज्दैमा त्यो दबिनेवाला छैन।

फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने योजना जनयुद्धकालदेखि नै सुरू गरिएको थियो। झापा विद्रोह र जनयुद्धलाई जोड्ने उद्देश्यका साथ सुरू गरिएको सहिद सप्ताह यसपटक पनि विविध रूपमा मनाइएको छ। त्यसकारण जनयुद्ध र यसका उपलब्धि दबिनेवाला छैनन्। केही भूतप्रेतहरू बाटोमा निस्किँदैमा इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने कुरा हुँदैन।

अहिले सरकारको तर्फबाट सहिद तथा वेपत्ता योद्धालाई सम्मान गर्ने प्रक्रिया जसरी एकपछि अर्कोगरि अगाडि बढेको छ, यसबाट प्रतिक्रियावादीहरू आतंकित भएका छन्। तिनीहरू फेरि एकपटक माओवादीसँग तर्सेका छन्। त्यसकारण माओवादीका विरूद्ध तथानाम गालीगलौज गर्ने, विभिन्न खालका षड्यन्त्रहरू गर्ने, बदनाम गर्ने फेरि प्रयास गरेका छन्, जुन कुरा हिजो हामी जनयुद्धकाल र शान्तिकालमा पनि पटकपटक देखेका छौं। भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीतिविरूद्ध भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनीति हो। हामी यसरी नै गएका छौँ। यो तथ्य नेपालको इतिहासमा स्थापित भएको छ।

अहिले माओवादीहरू एकठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्मान गर्ने संकल्प ग¥यौँ भने त्यो दिन फेरि आउनेछ, जहाँ हाम्रो नयाँ विजय हुनेछ। मैले विभिन्न उतारचढाव, घुम्तीमोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर पाएको छु। संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ। यस कुरामा अहिले प्रहार हुँदैछ। यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि हामी माओवादीहरू फेरि एक ठाउँमा आउन जरूरी छ।

माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ। त्यसमा भएका तीता मिठा, राम्रा नराम्रा सबै कुरा आत्मसात गर्न सकेकाे दिन हामीलाइ कसैले पनि कमजोर सावित गर्न नसक्ने गरी बलियाे हुन्छौं । सबै अनुभवलाई आफ्नै अनुभवका रुपमा र सबै सहिदहरुलाई जनताका सहिदका रुपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौं भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन ।

जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दवाव र घेराबन्दीका विरुद्ध म लडिरहेको छु । बाबुरामजी, विप्लव, धर्मेन्द्रजी पनि लडिरहेकै देखेको छु । पहिला  जस्तो छैन घटनाक्रमहरु, हामी आआफ्नै ढंगले लडिराखेकै छौं । अब हामी सबै एक ठाउँमा भएर लड्यौं भने यो अजरअमर हुन सक्छ । अनिमात्रै हामी सहिद बेपत्ता योद्धाप्रति इमान्दार भएका ठहरिन्छ । त्यसकारण तपाईँ सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले माओवादी आन्दोलनका भंगालाहरु एकठाउँमा ल्याउन जुन कोशिस गर्नुभएकाे छ, त्यो धेरै ठूलो कुरा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal