
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमत पाएका छन् । नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेसँगै शाहलाई दुई तिहाइसहित विश्वासको मत पाएका हुन् ।
प्रदेश सभाको आज आह्वान गरेको बैठकमा शाहलाई ४१ सांसदले विश्वसको मत दिएका थिए ।
प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।
५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत दिएनन् ।
नेकपा एमाले नेता राजेन्द्र रावलले विश्वासको मत नपाएपछि ठूलो दलको नेताको हैसियतामा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।