
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउने पक्का पाएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिन प्रदेससभा संसदीय दललाई निर्देशन दिएसँगै शाहले विश्वासको मत पाउने पक्का भएको हो ।
माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको शनिवार बसेको बैठकले नेतृत्वसहित शक्ति बाँडफाँटको सहमति प्याकेजमै हुनुपर्ने निष्कर्ष निकालेको थियो । सो को जानकारी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई पत्राचार गरिएको थियो ।
अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिएर सहयोग गर्न निर्देशन दिएका हुन् । स्रोतका अनुसार नेतृत्व र शक्ति बाँडफाँडबारे राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि केन्द्रबाटै हुनेछ । माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न पाउनुपर्ने माग राख्दै आएको छ ।
मुख्यमन्त्री शाहले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।