अचेल
जताततै फस्टाएको छ लुटको पसल
हराउँदै छ हरियाली घट्दै गयो फसल।
जन्मदाको अस्पतालदेखि
मरेर चीर आराम गर्ने आर्यघाटसम्म
इहलोकदेखि
यमलोकसम्म
कसैले न देखेको अमीरहरु जाने स्वर्गदेखि
पापकुण्ड भनेर तर्साउने गरेको कथित नर्कसम्म
खेतबारीदेखि घरबारीसम्म
बन्दुकदेखि जुलुससम्म
दासतादेखि इन्क्लाबसम्म
जहाँसुकै मौलाउदो छ लुटको धन्दा।
हामी लुटिएनौं
बलवान अङ्ग्रेजसँग नालापानीमा
चुच्चे नक्सामार्फत आँसु झार्न बिबस कालापानीमा
हामी पुर्ब जाऔं,
सुखानीको सुगन्धले सगौरब छाती फुलाउछौं
पश्चिमको थवाङ्गसँग नतमस्तक हुन्छौं
सहिद गेटमा
राजाको पैतला मुन्तिर
अजम्मरी चार सपुतलाई
प्रत्येक बार्सीकीमा
मुठ्ठी उठाउनु र एक मिनेट मौनता साध्नु
हाम्रो नियती चलीनै रहेको छ।
जसको आदेशमा
जुलुस निकाल्यौं
मार्चपास गर्यौ
एक सुनौलो सपना साकार पार्न
बुल्डोजर चढायौं छातीमा
`उ´भने जहिले सुकै
घोडा पछारेर आफू चै सवार हात्तीमा
भुइमान्छेहरुको
हालत र आक्रोश
न त भनी सक्नु छ न त लेखिसक्नु।
लुट्नुको पनि सीमा हुन्छ
गरिखानेहरुको जागर लुटियो
बाउ बाजेको पौरख लुटियो
सुकुम्बासीको रासन लुयियो
वीर योद्धाहरुको कासन लुटियो
हुँदाहुँदा
आकास छुने सपनाहरुको कत्लेआम गरियो।
आउनुस्,
फुटको रसातलमा बस्ने कचहरीमा बम हानौं
लुटका पसलहरुमा भोटे ताल्चा लगाऔं।
फाल्गुन १८, २०७९