आज :

आर्थिक वृद्धिको अवस्था भयावह, पहिलो त्रैमासमै थपियो झण्डै २५ अर्ब बाह्य ऋण

  • पवित्रा दाहाल

काठमाडौं । पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा ठूलो संकट परेको देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार पहिलो त्रैमाससम्म नेपालले रु १० खर्ब ५० अर्ब २३ करोड बाह्य ऋण लिएको छ । गत असार मसान्तसम्मको ऋणलाई तुलना गर्दा योे २४ अर्ब ३८ करोडले बढेको देखिन्छ ।

ऋणको बोझ बढ्दै जाने तर नेपालको कुनै क्षेत्रमा लगानी नदेखिने र भ्रष्टाचारमै सिमित हुने हो भने नेपाल श्रीलंकाजस्तो बन्न कत्ति समय पनि लाग्दैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार चालु आ.व को पहिलो त्रैमासमा जम्मा ५ अर्ब ८४ करोड बारबर मात्रै बाह्य ऋण तिरेको छ ।

यो त बाह्य ऋणको अनुपात मात्र भयो । आन्तरिक ऋण समेतको हिसाब गर्ने हो भने सरकारको थाप्लोमा मंसिर मसान्तसम्ममा जम्मा ऋण २० खर्ब ७ अर्बमाथि रहेको छ । जसमध्ये आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड बराबर रहेको छ । यसरी हेर्ने हो भने नेपालको प्रतिव्यक्तिको थाप्लोमा २०७८ सालको जनगणनाको तथ्यांकअनुसार मंसिरसम्म लगभग ६८ हजार ८ सय रुपैयाँ पर्न जान्छ ।

यसरी सरकारले धेरै अनुपातमा बाह्य ऋण लिएर जनताको थाप्लोमा पोस्ने र थोरै अनुपातमा तिर्ने अनि आफ्नै देशमा उब्जनी भएको अन्नबाली, तरकारी, फलफुल आदिलाई बेवास्ता गरि विदेशी सामान भित्र्याउने प्रवृत्तिलाई रोक्न नसक्नु नेपालको लागि दुर्भाग्य बन्न पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई हेर्ने हो भने चालु आ.व. २०७९/८० को पहिलो ७ महिनामा मात्रै नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरकोे आयात गरेको देखिन्छ । जबकि नेपालले रु. ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको छ । आयात धेरै र निर्यात एकदम थोरै अनुपातमा देखिएकोले नेपालको कूल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोडमाथि पुगेको छ ।

पछिल्लो समय देशको आर्थिक क्रियाकलापमा सुस्तता आएसँगै देशको आर्थिक वृद्धिदर समेत खुम्चिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालू आ.व २०७९/८० को साउनदेखि असोजसम्ममा आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा मात्र सिमित रहेको छ । जबकि यो बितेको अर्थिक वर्षको यही समयमा ३ प्रतिशत थियो । कोभिड–१९ महामारीको समयको पहिलो त्रैमासिकमा समेत आर्थिक वृद्धिदर ०.९ प्रतिशत थियो । यो वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर महामारीको वर्षभन्दा पनि तल खस्किएको छ ।

यो वर्ष बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेपनि त्यो पूरा हुन नसक्ने देखिन्छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समिक्षामार्फत अपेक्षित आर्थिक वृद्धिदर हासिल नहुने बताइसकेको छ । नेपालमा ऋण बढ्दै जाने, स्वदेशी सामानलाई मूल्य नदिने र आयात र निर्यातको फरक ठूलो हुँदै गएको कारणले कोभिड–१९ को भन्दा भयावह स्थिति आइसकेको सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालमा थुप्रै आयात गर्ने वस्तुहरु छन् जुन कुरामा सरकारको ध्यान जान सकेको छैन । नेपाल एक प्राकृतिक सुन्दरताले भरिएको देश हो । नेपालको विकट ठाउँ भनिने हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायतका जिल्लाहरुमा विकास गर्ने र पर्यटक भित्र्याउने हो भने नेपाललाई आर्थिक फड्को मार्न कत्ति पनि समय लाग्दैनथ्यो । यस्ता बिकट जिल्लामा सडक निर्माण गर्ने र त्यहाँका यार्सागुम्बा, स्याउ, सिमी, मार्सी चामलजस्ता घरेलु उत्पादनलाई बजार दिइयो भने तीनै वस्तुले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal