
काठमाडौं । आठ दलीय गठबन्धनका सांसदहरुलाई आज राष्ट्रपति चुनावबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेसको संयोजनमा आठ दलका संघीय सांसदहरुदलाई आज काठमाडौँमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य सहभागी हुनेछन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसैगरी भाेलि नै सातै प्रदेशका सांसदहरूलाई पनि अभिमुखीकरण दिइने निर्णय यसअघि गठबन्धन बैठकले गरेकाे थियाे ।
यही २५ गते हुने चुनावको लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवार बनेका छन् । त्यस्तै, नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । निम्वाङलाई अहिलेसम्म कुनै पनि पार्टीले समर्थन गर्ने निर्णय गरिसकेको छैन ।