
काठमाडौँ । नेकपा एमाले सरकारबाट बाहिरिएसँगै मन्त्रिमण्डल पुनर्गठनबारे छलफल सुरु भएको छ । नयाँ गठबन्धमा आवद्ध दलहरुसँग प्रधानमन्त्री प्रचण्डले अनौपचारिक छलफल सुरु गरेका छन् ।
मन्त्रालय मन्त्रीविहीन हुँदा जनताका काम प्रभावित हुने भन्दै प्रधानमन्त्रीले चाँडो पूर्णता दिने पक्षमा रहेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीले आजबाट विश्वासको मत दिएका र नयाँ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल सुरु थालेका छन् ।
एमाले सरकारबाट बाहिरिए लगत्तै नेपाली काँग्रेसका केही नेताहरुले अर्थ मन्त्रालयसहित सरकारमा सहभागी हुनुपर्ने जोड दिइरहेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवालाई यसमा पहल लिन आग्रह गरिरहेको बताइएको छ । तर देउवाले प्रधानमन्त्रीले आफैले छलफल सुरु नगर्दासम्म मन्त्रालय माग्न नसकिने बताउने गरेको एक नेताले बताए ।
‘हामीले सभापतिजीलाई पहल लिनुस् भनिरहेका छाैं तर उहाँले प्रधानमन्त्रीलाई कुरिराख्नुभएकाे छ, राष्ट्रपति चुनावमा मुखमा मन्त्रालय माग्न नसकिने सभापतिजीले हामीलाई जवाफ दिनुभएकाे छ’ उनले भने । उनले काँग्रेसले अर्थसहित एमालेले पाएका मन्त्रालयमा दाबी रहेको समेत बताए ।
गृह नपाएको झोकमा सरकारबाट बाहिरिएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई दिएको समर्थन आझै फिर्ता लिएको छैन । सोमबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
माओवादीका एक नेताका अनुसार रविले आझै गृह मन्त्रालय पाउ भन्दै लविङ गरिरहेका छन् । ‘रविजीले मान्छे पठाएर गृह दिए सरकारमा फिर्ता हुने खबर पठाउनुभएकाे छ तर हामीले प्रधानमन्त्रीलाई खबर गरिदिएका छाैँ’ माओवादीका एक पदाधिकारीले भने ।
त्यसैगरी एकीकीत समाजवादीसँगै जसपा र लोसपा पनि सरकारमा इच्छुक रहेका छन् ।