काठमाडौं । नयाँ समिकरणसँगै राष्ट्रपति चुनावमा अधिकतम सहमति जुटेको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सके राष्ट्रिय सहमित नभए अधिकतम सहमतिको लागि पहल गरेका थिए ।
नेपाली काँग्रेस र नेकपा एमाले जसको पक्षमा अधिकतम सहमति जुट्छ उसैलाई अघि सार्ने प्रचण्डले बताउँदै आएका थिए । एमाले भन्दा काँग्रेसको पक्षमा अधिकतम सहमति जुट्न भएपछि निर्णायक माओवादीको निर्णयसँगै नयाँ गठबन्धन तयार भएको हो ।
संसदको सबभन्दा ठूलो दल नेपाली काँग्रेसले अघ सार्ने उम्मेदवार राष्ट्रपति बन्ने करिब करिब पक्का जस्तै भएको छ । एक हजार मतभार भएको रवि लामिछानेको पार्टीले मात्रै एमालेलाई साथ दिने भएको छ । एमालेको १५ हजार मात्रै मतभार छ ।
नेपाली काँग्रेसले राष्ट्रपतिको उम्मेदवार छान्न अहिले बैठक बस्दैछ । नेताहरुबीच भएको सहमतिअनुसार काँग्रेसले रामचन्द्र पौडेललाई अघि सार्दैछ । काँग्रेसकै केही नेताहरुले सभापति शेरबहादुर देउवालाई अगाडि सार्न खोजेका छन् तर अहिले नै देउवा कार्यकारी पद छोड्न तयार नभएको बताइएको छ ।
यदि देउवा अघि नसरे पौडेल राष्ट्रपति बन्ने पक्का भएको छ । पौडेल २०६७ सालमा प्रधानमन्त्री चुनावमा १७ पटक उम्मेदवार उठेर पनि पराजित भएका थिए । यो उनको लागि संसदीय राजनीतिमा नकारात्मक असर परेको थियो ।
प्रधानमन्त्रीमा १७ पटक हारेपनि राष्ट्रपतिमा जित्ने भएसँगै कालो दाग हटेर नयाँ इतिहास रच्ने भएका छन् ।
राष्ट्रपति जित्न संघीय र प्रदेश सभाका सांसदको मतदानबाट कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत आवश्यक पर्छ । यो भनेको २६ हजार ३१५ मतभार हो । गठबन्धनसँग ३१ हजार बढी मतभार छ ।
कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । त्यस्तै, जनमतको १ हजार २ सय ४२, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८९२ र जनमोर्चाको २०६ मतभार रहेको छ ।


अनलाइन डबली


