
काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न अब २४ घण्टा पनि बाँकी छैन । अहिलेसम्म स्पष्ट समिकरण बन्न सकेको छैन । शिर्ष नेताहरु विहानैबाट आन्तरिक र अन्तरपार्टी छलफलमा व्यस्त रहेका छन् । राष्ट्रिय राजनीतिमा निर्णायक बनेको नेकपा माओवदाी केन्द्रले कसलाई राष्ट्रपति बनाउछ सबैको चाँसो बनेको छ।
माओवादी केन्द्रले चाहेको पार्टीबाट वा व्यक्त राष्ट्रपति बन्ने पक्का नै छ । माओवादीसँग सबै दलहरु वा नेताहरुले राष्ट्रपति मागिरहेका छन् । तर माओवादीले विगतका अनुभवबाट सिक्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेको छ । त्यस्तै सरकार स्थिर बनोस् भन्ने पनि माओवादीले चाहेको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताउँछन् । उनले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताए ।
गुरुङले दलहरुका बीचमा सहमति र सहकार्य हुन नसकेको कारणले शान्ति प्रक्रियाको मुद्दा अड्किइराखेको बताए । उनले अबका दिनमा झन ठूला चुनौती आउने बताउँदै त्यसलाई सबै एक भएर मुकाबिला गर्नुपर्ने बताए ।
राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताउँदै महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा अहिले पनि छलफल भइरहेको बताए । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसकेपनि अधिकतम सहमति र स्थिर सरकारको पक्षमा माओवादी रहेको बताए ।