आज :

राष्ट्रपति निर्वाचनमा एमाले एक्लिँदै, माओवादी – काँग्रेस नजिकिँदै

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय एक दिन बाँकी रहँदा शिर्ष नेताह‍रुको दौडधुम झन् बढेको छ । नेताहरु अन्तरपार्टी र अर्को पक्षसँग छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निर्वाचनअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति संकटमा परेको छ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले विश्वासको मत लिएको दिनमा संसदमा करिब डेढ घण्टाको सम्बोधनपछि माओवादी झस्किएको थियो ।

ओलीले विगतमा आफूले गरेका असवैधानिक कार्य‍ सहि भएको र त्यसका विरुद्ध सडक आन्दोलन गलत भएको बताएका थिए । ओलीले सडक आन्दोनलका नेतृत्वकर्ता प्रचण्डलाई घोचपेच गरेका थिए । त्यस्तै, ओलीले रवि लामिछानेको प्रकरणबारे पनि प्रधानमन्त्री प्रचण्डले गलत गरेको अर्थ लगाएका थिए ।

ओलीले आफ्ना पुराना गल्ती र रवि प्रकरणलाई लिएर प्रचण्डविरुद्ध उभिएपछि माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न सुरु गरेको हो । त्यो छलफल अहिले पनि जारी राखेको छ । एमालेले राष्ट्रपतिका लागि अघि सार्ने पात्रको लागि राष्ट्रिय सहमतिको खोज्न पनि प्रचण्डले ओलीलाई भनिसकेको बताइएको छ ।

ओलीले एमाले उम्मेदवारमा राष्ट्रिय सहमति जुटाए स्वीकार्य हुने नभए अर्को विकल्पमा जाने माओवादी नेताहरुले बताएका छन् । ओली आफ्नो उम्मेदवार सार्वजनिक गरेर सहमतिको प्रयासमा भन्दा दाउपेजमै लागेको आरोप लागेको छ ।

मंगलबार प्रधानमन्त्री निवास पुगेका ओलीले सुवास नेम्वाङ र माधव कुमार नेपालको नाम अघि सारेका थिए । केही दिनअघिसम्म विरोध गरिनथाक्ने ओलीले एकाएक नाम लिएपछि माधव नेपालले पनि सक्रियता बढाएका छन् । उनले हिजै काँग्रेस नेताहरुसँग भेट गरेका थिए ।

तर, ओली र माधव नेपालको गोप्य भेटवार्ता भएको कुरा मा‌ओवादीदेखि काँग्रेससम्म पुगिसकेको थियो । त्यसैले काँग्रेसले पनि नेपालको प्रस्ताव अस्वीकार गरेको छ भने माओवादीले मुख खोलेको छैन । देउवा बालुवाटार पुगेर नेपालसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

स्रोतहरुका अनुसार प्रचण्डले काँग्रेस सभापति देउवा र रामचन्द्र पौडेलमध्ये एकलाई उम्मेदवार बनाउन सुझाव दिएका छन् । देउवाले आफू राष्ट्रपति भए पार्टी गगन थापाको कब्जामा पर्ने देखाउँदै अहिले नै तयार नभएको बताइएको छ ।

आज दिनभर दलहरुबीच छलफल हुने र भोलि साँझसम्म नयाँ रुप लिने बताइएको छ । पर्सी उम्मेदवारी दर्ता पहिले नै राष्ट्रिय राजनीतिले नयाँ रुप लिनेछ ।

मंगलबार साँझसम्म भएका छलफललाई हेर्दा चुनावअघिको माओवादी-काँग्रेस गठबन्धन ब्युँतिने देखिएको छ । काँग्रेस र एकीकृत समाजवादीका नेताहरुले बिहीबार साँझसम्म पुरानो गठबन्धन ब्युँतिने दाबी गर्छन् । त्यसको लागि माओवादी सकारात्मक भएको उनीहरु‍ले बताउँदै आएका छन् । तर अहिले नै माओवादीले मुख खोलिसकेको छैन ।

माओवादीले स्थिर सरकार र राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास जारी राखेको छ ।  पछिल्ला भेटवार्ताहरुले एमाले एक्लिँदै गएको छ । जसपा र नागरिक उन्मुक्ति जस्ता साना पार्टी माओवादीको निर्णयलाई कुरिहरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal