काठमाडौं । महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय भएको छ । कम्तिमा पनि ४ हजार साधुसन्तको बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिएर बिदाई गरिनेछ । महाशिवरात्रिको अवसरमा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
साधुसन्तको दक्षिणाका लागि रु. ८ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यस अघिको तुलनामा यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ ।
त्यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा सङ्कलन भएको भेटीको गणना आइतबारबाट सुरु भएको र गणना सकिन अझै ५ ६ दिन लाग्ने कोषले जनाएको छ ।
फागुन ६ गते (शनिवार) परेको महाशिवरात्रिमा १५ लाखभन्दा धेरै भक्तजन पशुपति मन्दिर पुगेका र ७ लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।