
काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा जारी आईसीसी पुरुष विश्वकप लिग टू अन्तरगतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो ।
अलराउन्डर माइकल लिस्कले शतक बनाएपछि स्कटल्यान्डले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एक दिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो ।
आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १र१ विकेट लिए । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।
पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।