आज :

दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु

  • अनलाइन डबली

काठमाडौँ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे ।

नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहे ।

बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताए । ‘दुबई नेपालपछि नेपाली फिल्मको दोस्रो ठूलो बजार बन्न सक्ने देखिएको छ । नेपाली फिल्मका वास्तविक दर्शक मध्यपूर्वमै हुनुहुन्छ,’ अध्यक्ष केसीले भने ।

नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले फिल्म छायांकनको लागि नेपाल आउन अध्यक्ष केसीले यूएईस्थित फिल्ममेकरलाई आग्रह गरे । साथै, यूएईले हलिउड र बलिउडलगायत फिल्मलाई सुटिङमा इन्सेन्टिभ (प्रोत्साहन) दिएजस्तै नेपाली फिल्मलाई पनि त्यो सुविधा उपलब्ध गराउन उनले आग्रह गरे ।

गैरआवासीय नेपाली संघका यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले यूएईका दर्शकमाझ नेपाली फिल्मको पहुँच पुर्‍याउन एनआरएनएले सहयोग गर्ने बताए । ‘यहाँ पनि नेपाली फिल्म नेपाली दर्शकमाझ मात्र नभएर विदेशी दर्शकमाझ पनि लैजानुपर्ने जरुरी छ,’ उनले भने ।

सञ्चारकर्मी तथा कागबेनी फिल्मका निर्देशक भूषण दाहालले नेपाली फिल्मलाई विश्वमाझ लैजान ढिला भइसकेको भन्दै अन्तर्राष्ट्रिय दर्शकलाई लोभ्याउने क्राफ्टका फिल्म बनाउन जरुरी रहेको बताए । ‘अहिले पनि रामबाबु गुरुङका फिल्महरु हेरेर मैले धेरै कुरा सिकिरहेको छु,’ उनले भने ।

फिल्म स्क्रिनिङपूर्वको संक्षिप्त रेडकार्पेटमा अनमोल र उपासना आकर्षणको केन्द्र बने । महोत्सवमा भाग लिन नेपालबाट ४० फिल्मकर्मी, बोर्ड र सञ्चार मन्त्रालयका कर्मचारी र सञ्चारकर्मी दुबई पुगेका छन् ।

फेस्टिभल सुरु हुनुअघि बोर्डले दुबईमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । सूर्य कर्पोरेसनको व्यवस्थापनमा आयोजना भएको फेस्टिभल चार दिनसम्म चल्नेछ । कर्पोरेसनका कार्यकारी प्रमुख वासुदेव लामिछानेले फेस्टिभलमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए ।

फेस्टिभलको दोस्रो दिन सोमबार रेडकार्पेट समारोह, अवार्ड घोषणालगायत कार्यक्रम तय गरिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal