
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पाँचौं बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन् । चुनावपछि एकीकृत समाजवादीको पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा अध्यक्ष नेपालले चुनावी समिक्षासहित राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । उक्त दस्तावेजमाथि दश वटा समूह बनाएर छलफल सुरु भएको छ । समूहगत रुपमा छलफलपछि सुझाव राख्ने कार्यसूची रहेको छ । एक समूहबाट एक जना र त्यसमा फरक मत भए अर्कोले पनि दस्तावेजमाथि धारणा राख्न पाउने भएका छन् ।
यसअघि केन्द्रीय सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बसेको थियो ।
अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीति, चुनावी समीक्षा र पार्टी संगठनको अवस्था समेटेर दस्तावेज तयार पारेका छन् ।
नेपालको दस्तावेजमा एमालेलाई दक्षिणपन्थी शक्ति भएको उल्लेख गरेका छन् । त्यस्तै नेपाली काँग्रेसले पूर्वसहमति अनुसार पहिलो प्रधानमन्त्री प्रचण्डलाई स्वीकार नगर्दा नयाँ परिस्थिति बनेको दस्तावेजमा उल्लेख छ ।