
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा अन्तिमसम्म राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकमा राष्ट्रिय सहमतिको प्रयास गर्ने र नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको हो ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए ।
त्यसैगरी दुई महिने अभियान संचालन गर्ने निर्णय समेत गरेकाे छ । बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो । सबै तहका बैठक र जनतासम्म नेताहरु पुगेर चुनावमा अन्तरघातको रिपोर्ट तयार समेत गर्ने आजको बैठकले निर्णय गरेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले फिल्डबाट तयार भएका रिपोर्टहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताए । र त्यसअनुसार नै पार्टी अघि बढ्ने प्रवक्ता महराको भनाई छ । दुई महिने अभियानपछि केन्द्रीय समितिको बैठक बस्ने, सम्पूर्ण निर्णय केन्द्रीय समितिले गर्ने महराले बताए ।
माघको २६ गतेदेखि फागुन ५ गते भित्रमा प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने, स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने समेत माओवादी केन्द्रले निर्णय गरेको छ ।
त्यसैगरी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि केही निर्देशन र गरेका कामलाई जनतासम्म लैजाने निर्णय भएको प्रवक्ता महराले बताए ।