
काठमाडौं । आज विश्व क्यान्सर दिवस । चेतनामूलक विविध कार्यक्रम गरी विश्वभर क्यान्सर दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
हरेक वर्ष नयाँ नयाँ नारासहित यो दिवस मनाइँन्छ । यसवर्ष नारा ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ । क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनेर पनि बुझिन्छ । नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।
विज्ञहरुका अनुसार खानपानका कारण ४० प्रतिशत र जाँडरक्सी तथा चुरोट-सुर्तीका कारण ३० प्रतिशत क्यान्सर रोग लाग्ने जोखिम हुन्छ । त्यस्तै वंशाणुका कारण पनि लाग्ने गर्छ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने चिकित्सकको भनाइ छ ।
विज्ञहरुका अनुसार शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छन । फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गर्छ ।
नेपालमा नै क्यान्सरको राम्रो उपचार हुन्छ । यसअघि डाक्टर, उपकरण, ल्याबलगायतको अभावका कारण उपचारका लागि विदेश जानुपर्ने बाध्यता थियो । तर अहिले ती सेवा नेपालमा नै उपलब्ध छन् । सरकारले क्यान्सर रोगलाई विपन्न सेवा भनेर उपचारका लागि एक लाख रुपैयाँ बराबरको सहुलियत पनि दिँदै आएको छ । तर यो सहुलियत रकम पर्याप्त नभएको गुनासो छ ।
यस्तै नियमित व्यायाम नगर्ने, विकिरणको जोखिमलगायतका कारण पनि क्यान्सर हुने गरेको छ । क्यान्सरबाट बच्नको लागि जाँडरक्सी र सुर्तीजन्य पदार्थ नखान, शरीरको तौल सन्तुलनमा राख्न, प्याकेटका खानेकुरा सकभर नखान डाक्टरको सुझाव छ ।