धनगढी । सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् । नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरी १३ वर्ष पुरानो आगजनी घटनामा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाइएको थियो ।
बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।
मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कारागार चलाउन गरिएको हो । अब उनले १५५ अनुसार कारागारबाटै पनि निवेदन दिन सक्ने छन् ।
जिल्ला अदालत कैलालीले २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई दोषी ठहर गर्दै ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालत ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको थियो ।
नागरिक उन्मुक्ति पार्टीले सांसदलाई पक्राउ गर्नु राजनीतिक षड्यन्त्र भएको भन्दै २४ घण्टा रिहा गर्न अल्टिमेटम समेत दिएको छ । उन्मुक्तिले चौधरीलाई रिहा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन चेतावनी समेत दिएको छ ।


अनलाइन डबली


