
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका चौधरी कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सार्वजनिक सम्पतीमा आगजनी गरेको मुद्धामा दोषी ठहर भएका चौधरीलाई बाँके प्रहरीले शुक्रबार पक्राउ गरेको हो । चौधरीले २०६६ भदौ ३ गते कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा आगजनी भएको थियो ।
ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।