
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति र उपराष्टपति चुनावबारे प्रारम्भिक छलफल हुने बताइएको छ ।
संसदीय दलका नेता तथा पार्टी सभापति सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्दैछ । प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।
राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । काँग्रेसले माओवादीविरुद्ध उम्मेदवारी नदिने नेताहरुले बताएका छन् । तर अन्तिम टुंगो शुक्रबार बस्ने बैठकले लगाउने बताइएको छ ।