
काठमाडाैँ । प्रेस सेन्टर नेपालको १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी देशव्यापी रूपमा भव्यताका साथ मनाएकाे छ । संगठनका विभिन्न कमिटीहरूले प्रभातफेरी, कोणसभा, रक्तदानलगायतका कार्यक्रमको आयोजना गरिएका छन् ।
संगठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभातफेरी तथा कोँणसभा गरी मनाएको छ । राजधानीको माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभातफेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीलगायत संगठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो ।
संगठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कोणसभा अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कोणसभामा प्रमुख अतिथि तथा संगठन इन्चार्जसमेत रहनुभएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य महेश्वर दाहालले संगठन स्थापना गर्दाको बेला गरिएको संघर्षको स्मरण गरे । संगठनका संस्थापक अध्यक्षसमेत रहनुभएका दाहलले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको जानकारी पनि दिए ।
निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताए ।
शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको दाहालले स्मरण गरे ।
वर्गसंघर्षको रूप फेरिकएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याए । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्दै उनले क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको बताए । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उनकाे भनाइ छ ।
संगठनका अध्यक्ष विष्णु सापकोटाले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै कृष्ण सेन इच्छुकुलगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता व्यक्त गरे ।
माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन हुनुभएका संगठनका उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडे र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्दै सम्मान व्यक्त गरे । संगठनको वार्षिकोत्सव साधारणसभासहित बृहत् रूपमा मनाउने योजना भए पनि त्रिभुवन पौडेल र अनिल शाहीको दुःखद निधनका कारण त्यसलाई केही समयका लागि स्थगित गरिएको बताए ।
संगठन स्थापना हुँदाको लक्ष्य आफूहरूले नछाडेको उल्लेख गर्नुहुँदै अध्यक्ष जुगलले हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताउनुभयो । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता उहाँले जनाए ।
प्रेस सेन्टरकी उपाध्यक्ष गंगा बराललले स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्नुहुँदै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताइन् ।
संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले प्रेस सेन्टरको इतिहासबारे जानकारी गराउनुभएको थियो । सानो संगठनबाट स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्नुहुँदै उहाँले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गर्नुभयो । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उनकाे भनाइ छ ।
आदिवासी जनजाति पत्रकार संगठन फोनिजका महासचिव मिलन लिम्बूले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे । पत्रकारहरूको मुद्दामा फोनिज पनि प्रेस सेन्टरसँगै रहेको उनकाे भनाइ छ ।
पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिए । श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न उनले आग्रह गरे ।
संगठनको उपत्यका प्रदेश कमिटी अध्यक्ष नवराज दाहालले स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गर्दै संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने बताए ।
संगठनको एसोसियट प्रदेशका अध्यक्ष रोयल आचार्यले स्थापना दिवसको शुभकामना दिनुहुँदै आगामी दिनमा थप सशक्त बनाउनुपर्ने बताए ।
प्रतिस्ठान प्रदेशका अध्यक्ष विरेन्द्र ओलीले प्रेस सेन्टर नेपालले श्रमजीवी पत्रकारको पक्षमा मानक स्थापना गरेको उल्लेख गर्दै श्रमजीवि पत्रकारको पक्षमा उठाएका मुद्दाहरूलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।