
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज सकिँदैछ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् ।
खाजा समयअघि नै बहस सकिने बताइएको छ । आज सुनुवाइ सकिएपछि संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना रहेको कानुन व्यवसायी बताउँछन् । सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्न पनि पाँउने भएकोले त्यो सम्भावना रहेको छ ।
सुनुवाइ पछि हुने फैसलामा सर्वोच्च अदालतले लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया पूरा गर्नु नपर्ने भनेपछि सांसद र मन्त्री पद जोगिन्छ तर पुरानो नागरिकताको प्रमाणपत्रलाई मान्यता दिएन भने सांसद र मन्त्री दुबै गुमाउनेछन् । र पुनः नेपाली नागरिकताले लिने प्रक्रिया पूरा गर्नुपर्नेछ ।